आठराई । तेह्रथुमको आठराईमा जारी प्रथम आठराई आमन्त्रित भेट्रान्स गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
आठराईको सक्रान्ति बजार स्थित त्रि मोहन मा.वि.को नव निर्मित खेल मैदानमा आइतबार सम्पन्न तेस्रो क्वाटर फाइनलमा बेलका भेट्रान्स उदयपुरलाई ४-२ गोलले पराजित गर्दै बौद्ध भेट्रान्स रानिटार पॅाचथर सेमिफाइनल प्रवेश गर्दै तिजोक भेट्रान्स नवमीडॅाडासंगको भेट पक्का गरेको हो ।
त्यस्तै आइतबार नै सम्पन्न अन्तिम क्वाटर फाइनलमा ताप्लेजुङ भेट्रान्सलाई सडन डेथमा ५-४ गोलले पराजित गर्दै फिदिमले सेमिफाइनलमा धरान १३ भेट्रान्ससंगको भेट निश्चित गरेको छ ।
निर्धारित समयमा दुइ दुइ गोलको बराबरी,पेनाल्टि सुट आउटमा पनि तीन तीन गोलको बराबरी पछि नतिजा सडन डेथ मार्फत निकालिएको थियो ।
त्यस्तै शनिबार नै सम्पन्न दोस्रो क्वाटर फाइनलमा फेमेगुरू भेट्रान्स इलामलाई पेनाल्टि सुट आउटमा ५-४ गोल अन्तरले पराजित गर्दै धरान १३ भेट्रान्सले सेमिफाइनल स्थान पक्का गरेको हो । खेलको निर्धारित समयमा दुबै टिमबाट दुई दुई गोलको बराबरी भएपछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।
प्रतियोगिताको तेस्रो दिन माघ १९ गते सेमिफाइनलका दुइ खेल हुने खेल तालिका रहेको छ ।
पहिलो सेमिफाइनलमा सोमबार तिजोक भेट्रान्स पॅाचथर र बौद्ध भेट्रान्स पॅाचथर बिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा फिदिम भेट्रान्स पॅाचथर र धरान १३ भेट्रान्स सुनसरी बिच खेल हुनेछ ।
आठराई भेट्रान्स क्लबले आयोजना गरेको गोल्डकपको विजेताले ७५ हजार सहित ट्रफि र उपविजेताले ५० हजार सहित ट्रफि प्राप्त गर्नेछन । गोल्डकपको फाइनल खेल माघ २० गते हुनेछ ।