सुनवल । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ जेनिथ युथ क्लब, सुनवल–३ द्वारा आयोजित दोस्रो जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न छैटौं खेलमा डि युनिटी एफसी, खैरेनी, रुपन्देहीले दाजुभाई एफसी, सुनवल, नवलपरासीलाई ८–१ को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
डि युनिटी एफसीको जितमा बिबेक विश्वकर्माले ह्याट्रिक गर्दै उत्कृष्ट प्रदर्शन गरे भने अशिम नेपाली र मनोज गुरुङले दुई–दुई गोलको योगदान दिए। साथै प्रदिप थापाले एक गोल थपे। दाजुभाई एफसीका तर्फबाट सुमित परियारले एक मात्र सान्त्वना गोल गरेका थिए। ह्याट्रिकसहित प्रभावशाली खेल प्रस्तुत गरेका बिबेक विश्वकर्मा आजको म्यान अफ दि म्याच घोषित भए।
भोलि माघ २२ गते सातौं दिनको खेलमा सम्पुर्ण एफसी, कोटिवहा, भैरहवा र योङ बोईज एफसी, खैरेनी, रुपन्देहीबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।
