News छथर गाउँपालिकालाई पौवादुङमा गोल्डकपको उपाधि
गोलनेपाल

च्याङग्रे । तेस्रो पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा माघी मेला आयोजक समिति, पौवादुङमा, भोजपुरको आयोजनामा सम्पन्न तेस्रो पौवादुङमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका, तेह्रथुमले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनलमा छथर गाउँपालिकाले अल स्टार क्लब, धरानलाई ४–२ ले हराउँदै उपाधि जितेको हो । छथरको जितमा जिवन मास्के, असिम राई र मिलन लिम्बुले गोल गरे । थप एक गोल भने अल स्टारका अनिष पुलामी मगरले आत्तमघाती गोलका रुपमा गर्न पुगेका थिए । त्यस्तै पराजित अल स्टारका लागि भने एरिक गुरुङ र फुर्वा तामाङले गोल गरेका थिए ।

विजेता बनेको छथर गाउँपालिकाले उपाधिसहित नगद ३ लाख हात पारेको छ भने उपविजेता अल स्टार क्लबले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । छथर गाउँपालिका कै असिम राई फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक आसिब राई बन्दा उत्कृष्ट मिडफिल्डर उमेश कार्की बने । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि छथर कै मिलन लिम्बुले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने अल स्टारका आयाम राई घोषित भए ।

Post Comments