काटमाठौं (एजेन्सी) । फिफा इन्टरनृशनल विन्डोतर्फ विश्व फुटबलका दुई महारथी ब्राजील र फ्रान्स बीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले रोमाञ्चक जित हात पारेको छ ।
अमेरिकी शहर म्यासेचुसेट्समा भएको मैत्रीपूर्ण खेलमा दश खेलाडीमा खुम्चिनुका बावजुद फ्रान्सले ब्राजीलमाथि २–१ को जित हात पारेको हो । खेलको ३२औं मिनटमा काइलन एम्बाप्पेको गोलबाट फ्रान्सले नै खेलमा अग्रता लिएको थियो । पहिलो हाफसम्म सोही १–० को अग्रता फ्रान्सले कायम पनि राख्यो ।
तर, दोस्रो हाफमा भने फ्रान्सलाई झट्का लाग्न पुग्यो । खेलको ५५औं मिनटमा डायोट उपमेकानोले रातो कार्ड खाँदै मैदान छाड्दा फ्रेन्च टोली दश खेलाडीमा खुम्चियो । तर, ब्राजीलले त्यसको फाईदा उठाउनुका साटो फेरि अर्को गोल खान पुग्यो । खेलको ६५औं मिनटमा ह्युगो इकिटिकेले फ्रान्सका लागि दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो ।
उता ब्राजीलले भने एक गोल फर्काउन सके तापनि हार टार्न सकेन । खेलको ७८औं मिनटमा ग्लिसन ब्रिमरले ब्राजिलियन टोलीका लागि एक गोल फर्काए । तर, टोलीलाई खेलमा फर्काउन सकेनन् ।
फ्रान्सले अब आफ्नो आगामी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २९ मार्चका दिन कोलम्बियासँग खेल्नेछ । जुन खेल अमेरिकी शहर मेरील्याण्डमा हुने तय भईसकेको छ । उता ब्राजीलले भने ३१ मार्चका दिन फ्लोरिडामा क्रोएशियासँग खेल्ने कार्यक्रम छ ।