रामधुनी । साँघुरो अन्तरको जितका साथ आयोजक पंचायन फुटबल क्लब, रामधुनी (रातो) सुनसरीमा जारी तेस्रो पंचायन गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा पंचायनले राष्ट्रिय जागृति क्लब, इटहरीलाई १–० को अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । पंचायनको जितमा युन राईले एक मात्र निर्णायक गोल गरे । खेलको प्लेयर अफ दि म्याच भने पंचायन कै बिशाल घलान घोषित भए ।
प्रतियोगिता अन्तर्गत चैत्र १९ गते बिहीबारको पहिलो सेमिफाइनल खेल आयोजक पंचायन फुटबल क्लब, रामधुनी (निलो) र शिसौली युथ क्लब, बेलबारीबीच हुने आयोजकले जानकारी दियो ।
पंचायन फुटबल क्लब, रामधुनी–७, पंचायन, सुनसरीको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,३१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ८१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।