News शिवसताक्षी मेयर कपः वार्ड नम्बर १ र वार्ड नम्बर ८ फाइनलमा भिड्ने
गोलनेपाल

शिवसताक्षी । वार्ड नम्बर १ र वार्ड नम्बर ८ को फुटबल टोली झापामा जारी शिवसताक्षी मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

शुक्रबार दुधे रंगशालामा भएको पहिलो सेमिफाइनलमा वार्ड नम्बर १ ले साविक विजेता वार्ड नम्बर १० लाई पेनाल्टी शुटआउटमा ६–५ ले स्तब्ध पार्दै उपाधि नजिक पुग्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा वार्ड नम्बर १ का गोलरक्षक संगम लावती म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा वार्ड नम्बर ८ ले वार्ड नम्बर ९ लाई पेनाल्टी शुटआउट मै ९–८ को अन्तरले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ वार्ड नम्बर ८ का लागि दिपसन राईले गोल गरेका थिए भने वार्ड नम्बर ९ का लागि कुशन बानियाँले गोल गरेका थिए । खेलमा वार्ड नम्बर ८ का रोहित बस्नेत म्यान अफ दि म्याच बने ।

अब यही चैत्र २२ गते आइतबारका दिन हुने फाइनलमा वार्ड नम्बर १ र वार्ड नम्बर ८ उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।

शिवसताक्षी नगर खेलकुद विकास समितिको आयोजना तथा शिवसताक्षी नगरपालिका, झापाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ४५ हजार प्राप्त गर्नेछ । 

Post Comments