बराहक्षेत्र । सोमबारदेखि सुनसरीमा शुरु भएको नवौं भरौल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा इन्ट्रा पथरी–११ फुटबल क्लब, मोरङले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा इन्ट्रा पथरीले झापा–११ फुटबल क्लब, झापालाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । इन्ट्रा पथरीका लागि संजय लिम्बु र आदित्य शाक्यले गोल गरे । पराजित झापाका लागि भने घनश्याम कार्कीले गोल गरेका थिए । खेलमा इन्ट्रा पथरीका आदित्य शाक्य प्लेयर अफ दि म्याच बने ।
यो जितसँगै इन्ट्रा पथरी–११ सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र २४ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल आर.टी.एफसी, मलेसिया र द योङ ब्रदर्श क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका सामाजिक विकास मन्त्री राम प्रसाद, आयोजक क्लबका अध्यक्ष भेषराज कार्की लगायतले संयुक्त रुपमा गरेका थिए ।
न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।