News नवौं गोलबजार मेयर गोल्डकप शुरु, विजयी शुरुवातका साथ राष्ट्रिय जागृति सेमिफाइनलमा
गोलनेपाल

गोलबजार । सिरहामा शुरु भएको नवौं गोलबजार मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा राष्ट्रियजागृति क्लब, इटहरी सुनसरीले विजयी शुरुवात गर्दे सेमिफाइनल यात्रा तय गरेको हो ।

सोमबार भएको उद्घाटन खेलमा राष्ट्रिय जागृतिले हेटौडा फुटबल एकेडेमी, हेटौडा, मकवानपुरलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ राष्ट्रिय जागृतिका लागि कविन्द्र लिम्बुले गोल गरे भने हेटौडाका लागि बिक्रम तामाङले गोल गरेका थिए ।

यद्यपि पेनाल्टी शुटआउटमा राष्ट्रिय जागृति क्लब सफल बन्यो । खेलमा पेनाल्टीतर्फ दुई पेनाल्टी प्रहार जोगाएका राष्ट्रिय जागृतिका गोलरक्षक विवश चौधरी प्लेयर अफ दि म्याच घोषित भए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले गरेका थिए । सो अवसरमा गोलबजार नगरपालिका, सिराहाका नगर प्रमुख श्याम कुमार श्रेष्ठ, नगर उपप्रमुख मान्ती साह, मधेश प्रदेशका सांसद मनोज कुमार सिंह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला समन्वय समिति प्रमुख दिनेश कुमार महतो, उपप्रमुख दिलिप कुमार लामा लगायतको उपस्थिति रहेको थियो ।

गोलबजार नगरपालिका, गोलबजार, सिरहाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,२२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २९ गतेका दिन हुनेछ ।

 

Post Comments