इटहरी । गछिया युवा समाज, मोरङ सुनसरीमा जारी रेडबुल १६औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ गछियाले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ गछियाका लागि जनमय धामी, सुजन डंगोल र पदम भट्टराईले गोल गरे भने मच्छिन्द्रका लागि प्रदिप बुढाथोकीले दुई गोल गर्दा थप एक गोल देवेन्द्र तामाङले गरे । पेनाल्टी शुटआउटमा भने ५–४ ले गछिया विजयी बन्यो । खेलमा गछिया कै पदम भट्टराई प्लेयर अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत बैशाख ५ गते शनिबारको दोस्रो सेमिफाइनल खेल सातदोबाटो युथ क्लब। ललितपुर र प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।