News ऐतिहासिक आठराई मदन मेला २०८३ सुरू
गोलनेपाल

संक्रान्ति बजार । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्ति बजारमा २०१५ सालदेखि लाग्दै आएको ऐतिहासिक आठराई मदन मेला आजदेखि सुरु भएको छ ।

मेला सञ्चालन समितिको आयोजनामा आजदेखि खेलकुद तथा सॉस्कृतिक कार्यक्रमहरू सुरु भएको हो । मेलाको उद्घाटन पूवमन्त्री सीता गुरुङले एक समारोहका बीच गरेकी हुन् । मेला सञ्चालन समितिका अध्यक्ष टासी लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिसस प्रमुख गुमानसिंह इस्वो, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर अधिकारी, आठराईत्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन पोमु, डा देउमान लिम्बूलगायतले शुभकामना व्यक्त गरेका थिए ।

मेला सञ्चालन समितिका सचिव युवराज इङनामले सञ्चालन गरेको कार्यक्रममा आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिम, वडाध्यक्षहरुलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत समितिकी कोषाध्यक्ष मुना प्रसाईले गरेकी थिइन् ।

मेलामा खुल्ला पुरूष फुटबल, खुल्ला महिला फुटबल, खुल्ला पुरूष भलिबल, व्याडमिन्टन प्रतियोगिताका साथ विविध सॉस्कृतिक तथा सांगितिक कार्यक्रम आयोजना गरिएको छ ।

पुरुष फुटबलतर्फ २०, महिला फुटबलतर्फ ८ टोली सहभागी छन् । फुटबलको पुरूषतर्फको विजेताले ३ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले १ लाख ७५ हजार ५५५ सहित ट्रफी प्राप्त गर्नेछन् ।

त्यस्तै, खुल्ला महिला फुटबलतर्फ विजेताले १ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्नेछन् ।

खुल्ला पुरूष भलिवल प्रतियोगितामा विजेताले १ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले ५५ हजार ५५५ सहित ट्रफी प्राप्त गर्नेछन् ।

सबै विधाका खेलकुदमा यसपटक पुरस्कार राशिमा भारी वृद्धि गरिएको मेला समिति अध्यक्ष लामाले बताएका छन् ।

गत संस्करणमा पुरूष फुटबलतर्फ २ लाख ५ हजारबाट बढाएर यो संस्करणमा १ लाख ६ हजार वृद्धि गरिएको हो भने उपविजेतालाई १ लाख ३१ हजारदेखि बढाएर १ लाख ५५ हजार ५५५ पुर्याइएको छ ।

Post Comments