News एनआरएनए तेस्रो इलाम गोल्डकप शुरु, इन्ट्रा पथरी ११ को विजयी शुरुवात
गोलनेपाल

इलाम । शनिबारदेखि शुरु भएको एनआरएनए तेस्रो इलाम गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा इन्ट्रा पथरी ११ फुटबल क्लब, मोरङले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा रेड हर्ष फुटबल क्लब, इलामलाई पेनाल्टी शुटआउटमा हराउँदै इन्ट्रा पथरीले विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको तेस्रो मिनट मै सन्देश खवासको गोलबाट रेड हर्षले खेलमा अग्रता बनाए पनि खेलको अन्तिमतिर इन्जुरी समयमा सौर्य राउतले इन्ट्रा पथरीका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

पेनाल्टी शुटआउटमा भने इन्ट्रा पथरी ४–२ ले विजयी बन्यो । खेलमा इन्ट्रा पथरी कै आशिष लावती प्लेयर अफ दि म्याच चुनिए । यो जितसँगै इन्ट्रा पथरी सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बैशाख ६ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल फिदिम स्र्पोटिङ क्लब, पाँचथर र रोलिङ क्लब, धुलाबारी, झापाबीच हुनेछ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभासद क्षेत्र नम्बर २ इलामका सुहाङ नेम्वाङ लगायतले गरेका थिए ।

रेड हर्ष फुटबल क्लब, इलामको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल बैशाख १२ गतेका दिन हुनेछ ।

Post Comments