संक्रान्ति बजार । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा आयोजित ऐतिहासिक मदन मेला २०८३ को अवसरमा आयोजित पुरुष फुटबलतर्फ आज चार टोली विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा ताप्लेजुङको लुङसुङहाङ एएफसी चाँगे उपस्थित नभएपछि पाँचथर एफसीले वाकओभर पाउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो खेलमा संखुवासभाको नव सिर्जना प्रगतिशील युवा क्लबले लुङछाता एफसी छातेढुंगामाथि गोल वर्षा गर्दै दोस्रो चरणमा प्रवेश गर्यो ।
संखुवासभाका लागि नवराज माझीले २ गोल गर्दा, विवेक गुरूङ, सन्तोष लिम्बू, इन्द्र लिम्बू, संजीव लिम्बू र लाक्पा शेर्पाले समान १-१ गोल गरेका हुन् । नवराज माझी प्लेयर अफ दी म्याच बने ।
तेस्रो खेलमा फेदाप ५ खेलकुद विकास समितिले पाथिभरा युथ क्लब कालिपामाथि ४-२ गोलअन्तरले पराजित गरेको छ । फेदापका लागि रमेश लिम्बू र रन्जित लिम्बूले समान २-२ गोल गर्दा कालिपाका लागि कन्चन लिम्बू र सुजन क्षेत्रीले १-१ गोल गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच रमेश लिम्बू भए ।
आजै भएको अन्तिम खेलमा स्थानीय लिसिबुङ एफसीले सिंहदेवी आवि आदेनमाथि ५-० गोलको फराकिलो जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । लिसिबुङका लागि हिटेन सुहाङ र निरोस लिङदेनले समान २-२ गोल गर्दा अनुकेश शेर्माले एक गोल गरेका हुन् ।
खेलको प्लेयर अफ दी म्याच हिटेन सुहाङ भए । प्लेयर अफ दी म्याच बन्ने खेलाडीले समान २-२ हजार नगद पाएका छन् । भोलि मंगलबार पाँच वटा खेलहरू हुनेछन् ।
२०१५ सालदेखि लाग्दै आएको मेलामा खुल्ला पुरूष फुटबल, खुल्ला महिला फुटबल, खुल्ला पुरूष भलिबल, व्याडमिन्टन प्रतियोगिताका साथ विविध सॉस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।
पुरुष फुटबलतर्फ २०, महिला फुटबलतर्फ ७ टोली सहभागी छन् । फुटबलको पुरूषतर्फको विजेताले ३ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले १ लाख ७५ हजार ५५५ सहित ट्रफी प्राप्त गर्नेछन् ।
त्यस्तै, खुल्ला महिला फुटबलतर्फ विजेताले १ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्नेछन् । खुल्ला पुरूष भलिवल प्रतियोगितामा विजेताले १ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले ५५ हजार ५५५ सहित ट्रफी प्राप्त गर्नेछन् ।
सबै विधाका खेलकुदमा यसपटक पुरस्कार राशिमा भारी वृद्धि गरिएको मेला समिति अध्यक्ष लामाले बताएका छन् । गत संस्करणमा पुरूष फुटबलतर्फ २ लाख ५ हजारबाट बढाएर यो संस्करणमा १ लाख ६ हजार वृद्धि गरिएको हो भने उपविजेतालाई १ लाख ३१ हजारदेखि बढाएर १ लाख ५५ हजार ५५५ पुर्याइएको छ ।