भोजपुर । भोजपुर जिल्ला फुटबल सङ्घको आयोजनामा भोजपुर रङ्गशालामा सञ्चालन भइरहेको ९ औं मेयर भोजपुर गोल्डकपको पहिलो सेमिफाइनल समीकरण पुरा भएको छ।गत वर्षको विजेता एपीएफ फुटबल क्लब काठमाडौँ र भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर पहिलो सेमीफाइनलमा प्रतिस्पर्धा गर्ने निश्चित भएको हो।
आइतबार एपीएफ फुटबल क्लब काठमाडौँ र एल एक्स सिटी मोरङ बीचको खेल मध्यान्तरपछि हावाहुरी र पानीका कारण रोकिएको थियो । उक्त खेल सोमबार बिहान सम्पन्न हुँदा विभागीय टोली एपीएफले उत्कृष्ट ३-२ को कमब्याक जित हासिल गर्दै सेमीफाइनल प्रवेश गरेको हो। एपीएफको जितमा कप्तान हरि कार्कीले दुई तथा सबिन गुरुङले एक गोल गरेका हुन्। उता पराजित भएको टोली मोरङका लागि विशाल तामाङ र पुजन चौधरीले समान एक एक गोल गरेका थिए। उक्त खेलको म्यान अफ दि म्याच एपीएफका हरि कार्की बन्दै नगद रु.५००० सहित ट्रफी प्राप्त गरेका छन्।
त्यसैगरी सोमबारनै सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटबल संघ भोजपुरले संखुवासभा ११ संखुवासभालाई २-१ गोलन्तरले पराजित गर्दै पहिलो सेमिफाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। भोजपुरको जितमा विनोद राई र मिलन लिम्बुले समान एक एक गोल गरेका हुन्। उता पराजित भएको टोली संखुवासभाका लागि सौर्य राउतले एक गोल फर्काएका थिए। उक्त खेलमा भोजपुरका विवेक राई म्यान अफ दि म्याच बन्दै नगद रु.५००० सहित ट्रफी प्राप्त गरेका छन्।
मङ्गलबार प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेल सातदोबाटो युथ क्लब ललितपुर र कपिलासगढी गाउँपालिका खोटाङ दिनको ठिक ३ बजे प्रतिस्पर्धा गर्नेछन्।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा