संक्रान्ति बजार । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा आयोजित ऐतिहासिक मदन मेला २०८३ को पुरुष फुटबलतर्फ आज पाँच खेल सम्पन्न भए । जसमा एएलजी क्लब ह्वाकु र ताप्लेजुङको सोदुङ सेन्दाङ एफसी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ह्वाकुले म्याङलुङको चुटान एफसीलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । तर, खेलको निर्णय सडनडेथबाट लिइयो । जसमा ह्वाकुले ८-७ गोलअन्तरमा जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
यस्तै, सोदुङ सेन्दाङले धनकुटाको ड्रिम ब्वाइज एफसीलाई १-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । निर्णायक गोलकर्ता सविन तामाङ प्लेयर अफ दी म्याच बने । यसअघि भएका खेलबाट पाँचथर एफसी, संखुवासभा, झापाको टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
संखुवासभाको नवसिर्जन प्रगतिशील युवा क्लबले सिंहापुर एफसी पाँचथरलाई ४-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । यसैगरी, झापाको चुलाचुली एफसीले लिसिबुङ बी टिमलाई टाइब्रेकरमा पराजित गरेको थियो ।
यस्तै, पाँचथर एफसीले फेदाप ५ खेलकुद विकास समितिलाई पनि टाइब्रेकरमा पराजित गर्यो । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि टाइब्रेकरबाट निर्णय भएको हो ।
२०१५ सालदेखि लाग्दै आएको मेलामा खुल्ला पुरूष फुटबल, खुल्ला महिला फुटबल, खुल्ला पुरूष भलिबल, व्याडमिन्टन प्रतियोगिताका साथ विविध सॉस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।
पुरुष फुटबलतर्फ २०, महिला फुटबलतर्फ ७ टोली सहभागी छन् । फुटबलको पुरूषतर्फको विजेताले ३ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले १ लाख ७५ हजार ५५५ सहित ट्रफी प्राप्त गर्नेछन् ।
त्यस्तै, खुल्ला महिला फुटबलतर्फ विजेताले १ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्नेछन् । खुल्ला पुरूष भलिवल प्रतियोगितामा विजेताले १ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले ५५ हजार ५५५ सहित ट्रफी प्राप्त गर्नेछन् ।
सबै विधाका खेलकुदमा यसपटक पुरस्कार राशिमा भारी वृद्धि गरिएको मेला समिति अध्यक्ष लामाले बताएका छन् । गत संस्करणमा पुरूष फुटबलतर्फ २ लाख ५ हजारबाट बढाएर यो संस्करणमा १ लाख ६ हजार वृद्धि गरिएको हो भने उपविजेतालाई १ लाख ३१ हजारदेखि बढाएर १ लाख ५५ हजार ५५५ पुर्याइएको छ ।