भद्रपुर । दावेदार मध्ये एक एपिएफ फुटबल क्लब, काठमाडौं जारी ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ओखलढुंगाको पदमा स्पोर्टस् क्लबलाई ६-० ले हराउँदै एपिएफले अन्तिम आठमा स्थान पक्का गरेको हो । एपिएफले सेमिफाइनल प्रवेशको लागि संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो हाफ १-० गोल अन्तर बनाएको एपिएफले दोस्रो हाफमा गोलको वर्षा गरेको थियो । पहिलो हाफको २८ औँ मिनेटमा कप्तान अनिता बस्नेतको पासमा रश्मिकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन् ।
८० मिनेट खेलको ४१ औँ मिनेटमा रश्मिले नै अर्काे गोल थपिन् । विपक्षी गोलकिपर अगाडि बढेको समयलाई सदुपयोग गर्दै उनले गोल गरेकी हुन् । ४२ औँ मिनेटमा एपिएफको लागि तेस्रो गोल रेनुका नगरकोटीको नाममा रह्यो । रश्मिको पासमा रेनुकाले सुन्दर गोल गरिन् ।
खेलको ५२ औँ मिनेटमा रश्मिले ह्याट्रिक पूरा गरिन् । उनले गरेको कडा प्रहारले पदमाकी गोलकिपर झरना डुम्राकोटीको हातमा लाग्दै बलले जाली चुम्यो । खेलको ५४ औँ मिनेटमा अनिता केसीले अर्काे गोल थपिन् । पदमाकी डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै उनले गरेको प्रहार गोल भयो ।
५६ औँ मिनेटमा रश्मिले व्यक्तिगत चौथो गोल थपिन् । डिबक्समा अनमार्क रहेकी उनले वान टचमा गोल गरेकी थिइन् । पदमा स्पोर्टस्ले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि स्कोर भने निकाल्न सकेन ।
खेलको ५४ औँ मिनेटमा पदमाकी पुष्पा खड्काले डिबक्सबाट गरेको प्रहार एपिएफकी गोलकिपर अञ्जना राना मगरले मुस्किलले बचाएकी थिइन् । प्लेयर अफ दि म्याच एपिएफकी रश्मिले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।
भोलि बुधबार हुने क्वार्टरफाइनल खेलमा नेपाल पुलिस फुटबल क्लब र भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो ।

- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा