सिरहा । सिरहा नगरपालिका वडा नं 3 स्थित शंकर रंगशालाको खेल मैदानमा सहीद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लब सिराहाको आयोजनामा यही जेठ 8 गतेबाट गोल्डकप सुरु हुन लागेको हो ।
आयोजकले शनिबार सलहेश क्लबको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकपको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । जेठ 15 गतेसम्म चल्ने सो प्रतियोगितामा आर. आई. फूटबल क्लब काठमाण्डौं, चात्या सा फूटबल क्लब झापा, गोल्डेन स्टार युथ क्लब सुनसरी, गाईघाट युनाइटेड उदयपुर ,गोलबजार युनाइटेड क्लब गोलबजार, पथरी ११ फुटबल क्लब मोरङ, मा कामाख्य स्पोर्ट्स क्लब बक्सर भारत र आयोजकको तर्फ बाट सलहेश युवा क्लब सिराहा ले सहभागिता जनाएको गोल्डकपका संयोजक रजिप कुमार यादवले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले 3 लाख र उपविजेताले 1 लाख ५० हजार रुपैयाँसहित गोल्डकप ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका कोषाध्यक्ष सुनिल यादवले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई समेत नगद र ट्रफीद्वारा पुरस्कृत गरिनुका साथै उत्कृष्ट गोलकिपर सर्वाधिक गोलकर्ता र म्यान अफ दि टुर्नामेन्टलाई समेत नगद र ट्रफि प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन र खेलकुदको माध्यमबाट सिरहा र राजा सलहेश लाई चिनाउने उद्देश्यले गोल्डकप आयोजना गरिएको भन्दै अध्यक्ष यादवले खेल मार्फत पर्यटनको विकास गर्ने र युवाहरुलाई कुलत बाट बचाउने थप उद्देश्य रहेको बताउनुभयो ।
स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगितालाई सफल बनाउन सबै संग आग्रह गरेको छ। यो प्रतियोगिता विगत 3 वर्ष देखि लगातार आयोजक सलहेश युवा क्लब सिराहा ले जित्दै आएको छ।