भैरहवा । रुपन्देहीको सिद्धार्थनगरमा गुमनाम जस्तै रहेको फुटबल खेलको विरासतलाई हाल जारी ३१औं माछापुच्छ्रे कपले धानीरहेको छ भन्दा अन्यथा नहोला । तीन दशक पार गरी ३१औं संस्करणको गौरवमय यात्रामा दौडिरहेको माछापुच्छ्रे कपले आयोजना अघि अनेक हन्डर, चुनौति र जटिलताको कठिन सडक पार गर्नुपर्यो ।
त्यही कठिन सडक पार गर्न अनवरत पाईला चालीरहेका माछापुच्छ्रेका एक खास नाम हुन दिपक थापा (कुमार) । स्थानीय र उनलाई चिनेकाबीच उनी ‘कुमार’ नामले नै परिचित छन् । आयोजक माछापुच्छ्रे क्लबका वर्तमान अध्यक्ष तथा अर्का मुख्य योजनाकार युवराज थापा पारिवारिक कारणले प्रतियोगितालाई पूर्ण समय दिन नसकीरहेका बेला उनै कुमार क्लबका अन्यलाई लिएर एक्लै अगाडी बढिरहेका छन् ।
क्रिकेटको बाहुल्यता रहेको सिद्धार्थनगरमा फुटबल प्रतियोगिता हुनु आफैमा अर्थपूर्ण रहेको कुमार बताउँछन् । “अन्यौलता र अनेक कठिनाईका बीच माछापुच्छ्रे कप गर्नुपर्छ र स्थानीय खेलाडीहरुलाई खेल्ने अवसर सिर्जना गर्नुपर्छ भनेरै हामी लामो समयदेखि लागि परेका थियौं । माछापुच्छ्रे कप आयोजना हुनु समग्र सिद्धार्थनगर र रुपन्देही जिल्लाको फुटबल कै लागि खुशीको कुरा पनि हो ।”
कुनैबेला सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष समेत रहेर गाउँसमाजप्रतिको जिम्मेवारी पनि निर्वाह गरिसकेका कुमारसँग अहिले पनि थुप्रै चुनौतिहरु छन् । बिहानदेखि बेलुकासँग माछापुच्छ्रे कप आयोजना कै लागि आफूले दुःख गरेको सम्झिदै कुमारले क्लबका सबै साथीभाईहरुको साथले नै यी सब कुराहरु सम्भव भएको बताउँछन् । छन्, “क्लबमा मेरो हात र सबैको साथ, सहयोग अनि सहकार्य छ ।”
उनी अगाडी भन्छन्, “मैदान बाहिर भए पनि माछापुच्छ्रे कपलाई एउटा उचाईमा पुर्याउने लक्ष्य छ । मोफसलको फुटबलमा माछापुच्छ्रे कपलाई सुनौलो पानामा लेखियोस र सबैले सम्झियोस, यो एउटा चाहना पनि छ ।”