पथरी । तेस्रो पथरी शनिश्चरे गोल्ड कप फुटबल प्रतियोगिताको आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले रेड हर्स क्लब इलामलाई सडन डेथमा पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
पथरी शनिश्चरेस्थित पथरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेले। नेपाल पुलिस क्लबले गोलका लागि केही उत्कृष्ट प्रहार गरे पनि रेड हर्स क्लब इलामका गोलरक्षक विवेक मगरले उत्कृष्ट बचाउ गर्दै टोलीलाई गोल हुनबाट जोगाएका थिए।
निर्धारित समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटका पाँच–पाँच प्रहारमा दुवै टोलीले समान चार–चार गोल गर्न सफल भए। त्यसपछि खेल सडन डेथमा पुगेको थियो।
सडन डेथमा पनि रोमाञ्चक प्रतिस्पर्धा जारी रह्यो। अन्ततः नेपाल पुलिस क्लबले ९–८ गोल अन्तरले रेड हर्स क्लब इलामलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो।
नेपाल पुलिस क्लबका गोलरक्षक अमित खेलको प्लेयर अफ द म्याच घोषित भए।
अब प्रतियोगिताको पहिलो सेमिफाइनल खेल भोलि हुनेछ। भोलिको खेलमा झापा–११ र यूकेएफसी दार्जिलिङबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको फाइनल खेल असोज २४ गते हुनेछ।
- बेचौरी फुटबल क्लबलाई हराउँदै श्री हरैचा स्पोर्टिङ क्लब सेमिफाइनलमा
- बेचौरी फुटबल क्लबलाई हराउँदै श्री हरैचा स्पोर्टिङ क्लब सेमिफाइनलमा
- थ्री स्टारलाई पेनाल्टी सुटआउटमा हराउँदै झापा सेमिफाइनलमा
- लेटाङलाई हराउँदै कुसुमे साइनिङ सेमिफाइनलमा प्रवेश
- घरेलु टोली नक्साबारीलाई हराउँदै सुन्दर खोर्साने युवा क्लब सेमिफाइनल प्रवेश