News गोर्खा ब्वाइज बुटवल ३८औं झरना रनिङ सिल्डको फाइनलमा
गोलनेपाल

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-६ कुञ्जलापुरमा जारी ३८ औं झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगितामा साबिक विजेता योङ स्टार क्लबलाई पराजित गर्दै गोर्खा ब्वाइज स्पोर्ट्स क्लब, बुटवल फाइनलमा प्रवेश गरेको छ।

आज भएको अत्यन्तै सनसनीपूर्ण र रोमाञ्चक दोस्रो सेमिफाइनल खेलमा साबिक विजेता योङ स्टारलाई सडेन डेथमा ५ का विरुद्ध ६ गोल अन्तरले पन्छाउँदै गोर्खा ब्वाइजले उपाधि भिडन्त पक्का गरेको हो।

निर्धारित समयको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा खेलले नाटकीय मोड लियो। दोस्रो हाफमा गोर्खा ब्वाइजबाट आत्मघाती गोल हुन पुग्यो, जसका कारण योङ स्टारले सुरुवाती अग्रता बनायो। त्यसको केही समयमै योङ स्टारका सुजित बुढाथोकीले पेनाल्टीमार्फत दोस्रो गोल थप्दै टोलीलाई २-० को बलियो स्थितिमा पुर्‍याए।

२ गोलले पछि परेको अवस्थामा गोर्खा ब्वाइजले उत्कृष्ट पुनरागमनको रणनीति बुन्यो। स्टार फरवार्ड विक्की चाम्लिङ राईले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए। खेल अझ रोमाञ्चक बन्दै जाँदा विदेशी खेलाडी सिलाले गोल गरेपछि गोर्खा ब्वाइज २-२ को बराबरीमा फर्कियो। निर्धारित समयको अन्तिम मिनेटतिर गोर्खा ब्वाइजका अर्का खेलाडी बिन्डेले गोल गरेपछि खेल ३-२ को स्थितिमा पुग्यो र गोर्खा ब्वाइज जितको नजिक देखियो।

तर, दोस्रो हाफको इन्जुरी समय (एडिसनल टाइम) को अन्तिम क्षणमा योङ स्टारका सुजित बुढाथोकीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३-३ को रोमाञ्चक बराबरीमा ल्याए र खेल ट्राइब्रेकरमा धकेलिएको थियो।

विजेताको टुंगो लगाउन गरिएको पेनाल्टी सुटआउट (टाई ब्रेकर) मा दुवै टोलीले सुरुवाती ५-५ प्रहारमा शतप्रतिशत गोल गरेपछि खेल ५-५ को बराबरीमा टुंगियो।

त्यसपछि खेल सडेन डेथमा प्रवेश गर्‍यो। सडेन डेथको पहिलो (छैटौँ) प्रहारमा गोर्खा ब्वाइजले गोल गर्‍यो। लगत्तै योङ स्टारको छैटौँ प्रहारलाई गोर्खा ब्वाइजका गोलकिपर विरेन्द्र सारु मगरले उत्कृष्ट बचाउ (सेभ) गर्दै आफ्नो टोलीलाई सडेन डेथमा ६-५ को रोमाञ्चक जित दिलाए र फाइनलको यात्रा तय गराएका उनि म्यान अफ द म्याच भएका छन।

Post Comments