News मधुवन सेमिफाइनलमा
सुरज राना मगर

बढैयाताल । मधुवन नगरपालिका यहाँ जारी दोस्रो बर्दिया जिल्ला पालिका कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनलतर्फ मधुवनले गुलरिया नगरपालिकामाथि २–० को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

बढैयाताल–८ स्याउलीबजार स्थित बर्दिया खेलमैदानमा सम्पन्न खेलको ४१औं मिनटमा शम्भु थारुको गोलबाट मधुवनले खेलमा शुरुवाती अग्रता बनाएको थियो । त्यस्तै ६५औं मिनटमा अविनाश थापाले दोस्रो गोल थप्दै मधुवनको जित सुनिश्चित गरे ।

खेलमा मधुवनका लागि दोस्रो गोल गरेका अविनाश थापा म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत ट्रफी र एक हजार हात पारे । प्रतियोगिता अन्तरगत फागुन १८ गते मंगलबारको खेल राजापुर नगरपालिका र गेरुवा गाउँपालिका बीच हुने खेल संयोजक शम्शेर मल्लले जानकारी दिए ।

कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, बढैयाताल–८ स्याउलीबजार, बर्दियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २२ गतेका दिन हुनेछ ।

Post Comments