
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगमा खुमलटार युथ क्लबले लिगलिडर सातदोबाटो युथ क्लबसँग अंक बराबरी गर्न सफल भएको छ । बुधबार भएको खेलमा खुमलटारले ब्वाइज युनियन क्लबमाथि ३–० को जित निकाल्दै सातदोबाटोसँगको अंक बराबरी गरेको हो ।
एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा खुमलटारका लागि सबिन केसीले दुई गोल गरे भने आयुष घलानले एक गोल गर्दै टोलीको जित पक्का गरेका थिए । यो जितसँगै ९ खेलबाट २२ अंक जोडेको खुमलटार दोस्रो स्थानमा छ । र लिगलिडर सातदोबाटोसँगको अंक बराबरी गर्न सफल भएको छ । यद्यपि सातदोबाटोले एक खेल कम खेलेको छ । उता पराजित ब्वाइज युनियन क्लब भने १४ अंकका साथ चौथो स्थानमा छ ।
नयाँ बस्ती र टुसालको बराबरी
त्यस्तै बुधबार नै भएको अर्को खेलमा नयाँ बस्ती युवा क्लब र टुसाल युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा बिबेक गुरुङले ३९औं मिनटमा गरेको गोलबाट नयाँबस्तीले खेलमा अग्रता लिएको थियो । तर त्यसलाई अन्तिमसम्म जोगाउन सकेन । उता टुसालका लागि ७१औं मिनटमा एलोन राईले गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
यो बराबरी नतिजापछि ९ खेलबाट १२ अंक जोडेको नयाँ बस्ती लिगतालिकाको छैटौं स्थानमा छ । उता टुसाल भने ९ अंकका साथ लिगतालिकाको सातौं स्थानमा छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै