News उत्कृष्ट पूनःरागमन गर्दै गैंडाखोला क्वाटरफाइनलमा
सुरज राना मगर

नयाँबस्ती । खेलमा शुरुवाती गोल खाएर पछि परेको स्थिति उल्टाउँदै रोदिज्ञा स्पोर्टस गैंडाखोला–११ यहाँ जारी थिङकिङ मोटर्स दोस्रो भरतपुर २४ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भरतपुर–२४ नयाँबस्ती स्थित सिद्धार्थ माविको खेलमैदानमा सम्पन्न प्रिक्वाटरफाइनलतर्फ गैंडाखोलाले जु एफसीमाथि टाईब्रेकरमा ४–३ को जित निकाल्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

खेलमा शुरुवाती अग्रता भने जु एफसीले लिएको थियो । दोस्रो हाफको १८औं मिनटमा निपेश गुरुङले बक्स भित्रबाट गरेको प्रहारले पोष्टको जाली चुमेको थियो । यद्यपि त्यो अग्रता जु एफसीले अन्तिमसम्म जोगाउन सकेन ।

दोस्रो हाफको २४औं मिनटमा प्रयास तामाङले पनि बक्स भित्रबाट क्लिनिकल फिनिस गर्दै खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याएका थिए । टाईब्रेकरमा भने जु एफसीका दुई प्रहार गैंडाखोलाका कप्तान तथा गोलरक्षक प्रदिप भण्डारीले जोगाउँदै टोलीलाई जित दिलाउन निर्णायक भूमिका खेलेका थिए ।

खेलको म्यान अफ द म्याच पनि गैंडाखोलाका कप्तान तथा गोलरक्षक प्रदिप भण्डारी नै घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन २७ गतेको पहिलो क्वाटरफाइनल खेल आयोजक खेलकुद विकास समिति, भरतपुर–२४ र सैनामैना युवा क्लब, रुपन्देहीबीच हुने आयोजकले जनाएको छ ।

खेलकुद विकास समिति, भरतपुर–२४ को आयोजना तथा भरतपुर महानगरपालिका वार्ड नम्बर २४ को सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल भने आउँदो चैत ७ गतेका दिन हुनेछ ।

 

Post Comments