News आयोजकलाई हराउँदै सैनामैना सेमिफाइनलमा
सुरज राना मगर

नयाँबस्ती । आयोजक खेलकुद विकास समिति, भरतपुर–२४ चितवनलाई हराउँदै सैनामैना युवा क्लब, रुपन्देही यहाँ जारी थिङकिङ मोटर्स दोस्रो भरतपुर २४ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भरतपुर–२४ नयाँबस्ती स्थित सिद्धार्थ माविको खेलमैदानमा शनिबार सम्पन्न पहिलो क्वाटरफाइनलमा सैनामैनाले आयोजकमाथि ३–१ को रोमाञ्चक जित निकाल्यो ।

पहिलो हाफको १७औं मिनटमा हिमाल थापाले सैनामैनाका लागि पहिलो गोल गरे । तर त्यसको तीन मिनट लगतै आयोजकका लागि सुजन श्रेष्ठले बराबरी गोल फर्काउन सफल भएका थिए ।

पहिलो हाफ १–१ को बराबरीमा टुंगिए तापनि दोस्रो हाफमा भने सैनामैनाले नतिजा आफ्नो पक्षमा पार्यो । दोस्रो हाफ शुरु भएको आठौं मिनटमा सैनामैनाका लागि कप्तान विश्वास थापाले पेनाल्टीबाट दोस्रो गोल गरे । आयोजकका खेलाडीले बक्स भित्र ह्याण्डबल गरेपछि सैनामैनाले पेनाल्टीको अवसर पाएको थियो ।

त्यस्तै सैनामैनाका लागि तेस्रो गोल भने अन्तिमतिर वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका बिमल श्रीसले गर्दै पाहुना टोलीको जित सुनिश्चित गरेका थिए ।

खेलमा सैनामैनाका शिव बोटे म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत १ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल अभिषेक चर्च रजहर र आर.आर.एफसी, मकवानपुरबीच हुने आयोजकले जनाएको छ ।

खेलकुद विकास समिति, भरतपुर–२४ को आयोजना तथा भरतपुर–२४ को सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल भने चैत ७ गतेका दिन हुनेछ ।

 

Post Comments