News सिर्जन चम्किदा भैरव फाइनलमा
सुरज राना मगर

नयाँबस्ती । गोलरक्षक सिर्जन श्रेष्ठ चम्किएपछि भैरव एफसी, नवलपरासी यहाँ जारी थिङकिङ मोटर्स दोस्रो भरतपुर–२४ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

भरतपुर–२४ स्थित सिद्धार्थ माविको खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा भैरवले सैनामैना युवा क्लब, रुपन्देहीलाई पेनाल्टी शुटआउटमा ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । दोस्रो हाफको १७औं मिनटमा शरद क्षेत्रीको गोलबाट अग्रता बनाएको सैनामैनाले त्यसलाई जोगाउन सकेन ।

त्यसको तीन मिनट लगतै अनुज भण्डारीले भैरवका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । खेलमा सैनामैनाले जितको अवसर पनि गुमाएको थियो ।

निर्धारित समयतर्फ कै खेलमा भैरवका खेलाडीले बक्स भित्र ह्याण्डबल गर्दा सैनामैनाले पेनाल्टीको अवसर पाएको थियो । तर कप्तान विश्वास थापाको पेनाल्टी प्रहार भैरवका गोलरक्षक सिर्जन श्रेष्ठले जोगाएका थिए ।

पेनाल्टी शुटआउटमा पनि सैनामैनाका तीन पेनाल्टी प्रहार जोगाएका सिर्जन श्रेष्ठले भैरवलाई उपाधि नजिक समेत पुर्याए । खेलमा श्रेष्ठ नै म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत चैत ५ गतेको दोस्रो सेमिफाइनल खेल रोदिज्ञा स्पोर्टस गैैंडाखोला–११ र अभिषेक चर्च, रजहरबीच हुने आयोजकले जनकाएको छ ।

युवा तथा खेलकुद विकास समिति, भरतपुर–२४ को आयोजना तथा भरतपुर महानगरपालिका वार्ड नम्बर २४ को सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ

फाइनल खेल भने यहि चैत ७ गतेका दिन हुनेछ ।

 

Post Comments