News राजर्षि जनक कपको आधिकारिक टिकट पार्टनर बन्यो ‘खल्ती’
गोलनेपाल

बागमती । छोटो समय मै लोकप्रिय बनेको खल्ती डिजिटल वालेट यहि चैत्र महिनादेखि शुरु हुन गईरहेको प्रतिष्ठित पाँचौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको आधिकारिक टिकट पार्टनर बनेको छ ।

बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा यहि चैत्र २१ देखि २०७८ सालको नयाँ बर्ष बैशाख १ सम्म सञ्चालन हुन गईरहेको प्रतियोगिताको टिकट सहकार्यका लागि खल्ती र आयोजक क्लबबीच सम्झौता समेत भएको छ ।

सम्झौतापत्रमा खल्तीका तर्फबाट सहायक म्यानेजर जोनम भुर्तेल र आयोजक क्लबका तर्फबाट महासचिव सागर मैनालीले संयुक्त रुपमा हस्ताक्षर गरे ।

सम्झौता गरेसँगै दुवै पक्षले खुशी समेत व्यक्त गरेका छन् । खेल हेर्न चाहने दर्शकहरुले खल्तीमार्फत सहजै टिकट खरिद गर्न सक्ने र यसले फुटबलमा डिजिटल प्रविधिलाई पनि बढावा दिनेमा विश्वास व्यक्त गरे ।

त्यति मात्र नभएर खल्ती डिजिटल वालेटको माध्यमबाट टिकट खरिद गर्ने दर्शकहरुल २० प्रतिशत छुट पाउने समेत खल्ती डिजिटल वालेटका सहायक म्यानेजर भुर्तेलले बताए ।

राजर्षि जनक कपको विजेतालाई १० लाख

प्रदेश नम्बर २ कै शानका रुपमा स्थापित राजर्षि जनक कपको पाँचौं संस्करणको विजेताले उपाधिसहित नगद १० लाख पाउनेछ । त्यस्तै उपविजेताले ५ लाख पाउने आयोजकले जनाएको छ ।

बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार पाउनेछ । त्यस्तै सर्लाही जिल्लाका एक उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने पनि आयोजक क्लबका महासचिव मैनालीले बताए ।

Post Comments