News क्याम्पाचौरमा महिला फूटबल गरिँदै
गोलनेपाल

नारायणगढको क्याम्पाचौरमा महिला फूटबल प्रतियोगिता हुँदैछ । चितवन जिल्ला फूटबल संघको आयोजनामा मंसिर १७ गतेदेखि स्व. जगदीश खड्का स्मृति महिला फूटबल प्रतियोगिता–२०७६ गर्न लागेको हो ।

प्रदेश नम्बर २, ३ र ४ का ४ जिल्लाबाट ८ वटा टिम सहभागी हुने खेल ४ दिन चल्नेछ । प्रतियोगितामा चितवनबाट मात्रै ३ टिमले सहभागिता जनाउनेछन् । चितवनबाट पञ्चकन्या महिला टिम ‘ए’, पञ्चकन्या महिला टिम ‘बी’ र हानमी एभरेष्ट क्लब चितवन सहभागी हुनेछन् ।

त्यस्तै प्रदेश ३ बाटै मकवानपुर महिला टिम, प्रदेश २ बाट बागमती फूटबल क्लब सर्लाही तथा प्रदेश ४ को नवलपुरबाट भेंडाबारी महिला टिम, बरचुली मा.वि.र अभिषेक चर्च रजहर सहभागी हुने प्रतियोगिता संयोजक प्रविन जोशीले जानकारी दिए ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएका छन् । फाइनल २० गते हुनेछ । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार र ट्रफी पाउने चितवन जिल्ला फूटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट फरवार्ड, डिफेण्डर र गोलकिपरलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । हरेक म्याचका प्लेयर अफ दी म्याचलाई २ हजार नगद दिइनेछ ।

आइतबार क्याम्पाचौरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चितवन जिल्ला फूटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले महिला खेलाडी उत्पादनमा विशेष योगदान गरेका स्व. जगदीश खड्काको सम्झनामा प्रतियोगिता आयोजना गरिएको बताए । “उहाँ महिला खेलाडी उत्पादनमा विशेष खट्नुहुन्थ्यो”, उनले भने, “त्यसैले महिलाकै प्रतियोगिता गर्न लागिएको हो ।”

चितवन जिल्लाका एक उत्कृष्ट खेलाडी खड्काको २०७४ मंसिर १० गते निधन भएको थियो । उनी चितवन जिल्ला फूटबल संघमा २०७०–७४ को कार्यसमितिमा सदस्य रहेका थिए ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै फूटबल प्रतियोगिताका मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रमुख वाई बी पौडेलले अरु सबै खेलमा धेरैले सहयोग गरे पनि महिलाको खेलमा धेरैले चासो नदिएको देखेर आफूले सहयोग गरेको बताए । उनले महिला फूटबलमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । अखिल नेपाल प्रशिक्षक संघका केन्द्रीय अध्यक्ष विनोद लामाले महिला फूटबलमा सम्भावना धेरै भए पनि खेलाडीलाई सुविधा र अवसर कम भएको बताए ।

Post Comments