News लेखनाथ युनाइटेड फाइनलमा, उपाधिका लागि नवलपरासीसँग भिड्ने
सुरज राना मगर

बर्दघाट । यहाँ जारी प्रथम उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा लेखनाथ युनाइटेड, कास्की र नवलपरासी–११ भिड्ने भएका छन् ।

आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा लेखनाथले रुपन्देही–११ लाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेपछि लेखनाथ र नवलपरासीको उपाधि भिडन्त पक्का भएको हो ।

बर्दघाट–४ स्थित क्याम्पाचौर खेलमैदानमा सम्पन्न रोमाञ्चक खेलमा लेखनाथले नवौं मिनटमै दिपा शाहीको गोलबाट खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफ कै इन्जुरी समयमा रुपन्देहीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई स्मृति रासकोटीले सहजै गोलमा परिणत गर्दै खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याएकी थिईन् ।

दोस्रो हाफमा थप आक्रमक बनेको लेखनाका लागि दोस्रो हाफ शुरु भएको १८औं मिनटमा सदिपा ब्लोन तामाङले मैदानको दाँया भागबाट आकर्षक गोल गर्दै टोलीलाई खेलमा फेरि अग्रता दिलाएकी थिईन् । जुन अग्रता खेलको निर्णायक नतिजा पनि बन्यो ।

खेलको प्लेयर अफ द म्याच लेखनाथकी दिपा शाही घोषित भईन् । प्रतियोगिताको फाइनल खेल चैत्र १७ गते मंगलबारका दिन लेखनाथ युनाइटेड र नवलपरासी–११ बीच हुने खेल संयोजक भरत गुरुङले जानकारी दिए ।

बर्दघाट नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५०० हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्ने संयोजक गुरुङले बताए ।

Post Comments