News उपाधिका लागि फोर ब्रदर्श र तिलकाना भिड्ने
सुरज राना मगर

सुस्ता । यहाँ जारी प्रथम सुस्ता अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा देउराली फोर ब्रदर्श र तिलकाना युवा क्लब, सुनवल भिड्ने भएका छन् ।

बुधबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा फोर ब्रदर्शले पृथ्वी युवा क्लब, बर्दघाटलाई सडन डेथमा ४–३ ले हराउँदै फाइनलमा तिलकानासँगको भेट पक्का गरेको हो ।

त्यसअघि सुस्ता–४ नरसही स्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा दुवै पक्षले गोलको प्रयास गरे तापनि थप गोल भने गर्न सकेनन् । यद्यपि खेलको शुरुवातबाटै पृथ्वीमाथि फोर ब्रदर्श हावी बनेको थियो ।

खेलमा फोर ब्रदर्शले शुरुवात मै बनाएको अग्रतालाई अन्तिम समयसम्म जोगाउन नसक्दा जितका लागि टाईब्रेकरसम्म संघर्ष गर्नुपरेको थियो । पहिलो हाफको ३७औं मिनटमा जोन ग्लोरीको गोलबाट फोर ब्रदर्शले खेलमा अग्रता बनाएको थियो ।

तर खेलको अन्तिमतिर लिला मगरले पृथ्वीका लागि गोल गर्दै खेललाई रोमाञ्चक १–१ को बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको निर्णय टाईब्रेकरबाट पनि ननिस्किएपछि सडन डेथमा फोर ब्रदर्शले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

खेलमा फोर ब्रदर्शका गोलरक्षक राजाबाबु मगर म्यान अफ द म्याच घोषित भए । उनलाई सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बश्यालले पुरस्कृत गरे । फोर ब्रदर्शले फाइनलमा चैत्र २० गतेका दिन तिलकाना युवा क्लबसँग खेल्ने खेल संयोजक धिरज गुरुङले बताए ।

सुस्ता गाउँपालिकाको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लबको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले बताए ।

Post Comments