News उत्कृष्ट पूनःरागमनका साथ आर्मी फाइनलमा
गोलनेपाल

चितवन । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी स्व. विजय खड्गी स्मृति गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मीले शुरुवाती दुई गोलले पछि परेको स्थिति उल्टाउँदै उत्कृष्ट पूनःरागमनका साथ नुवाकोट–११ लाई टाइब्रेकरमा ४–३ ले हरायो । नारायणगढ स्थित क्याम्पाचौरमा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

खेलको चौथो मिनट मै दिपेश आले मगरको गोलबाट अग्रता बनाएको नुवाकोटका लागि ३७औं मिनटमा प्रयास तामाङले दोस्रो गोल थपेका थिए । यद्यपि आर्मीका लागि सुशान्त चौधरीले ४२ र ७१औं मिनटमा गोल फर्काउँदै खेललाई रोमाञ्चक २–२ को बराबरीमा ल्याएका थिए ।

त्यस्तै खेलमा नुवाकोटका गोलरक्षकले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा आर्मीलाई केही फाईदा समेत पुगेको थियो । टाईब्रेकरमा आर्मीका लागि सुशान्च चौधरी, राजेश पौडेल, प्रज्वल गुरुङ र सुरज महतोले गोल गरे भने प्रेम कुँवरले गोल गर्न चुकेका थिए ।

उता नुवाकोटका लागि दिपेश आले, सिसोस थापा र पृथ्वी प्याकुरेलले मात्र गोल गर्न सके । सजिन थापा मगर र सागर स्याङतन भने गोल गर्नबाट चुकेका थिए । खेलमा आर्मीका सुशान्त चौधरी म्यान अफ द म्याच घोषित भए । र उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत्र १९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन र बागमती युवा क्लब, सर्लाहीबीच हुने आयोजकले जनाएको छ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यहि चैत्र २३ गतेका दिन हुनेछ ।

Post Comments