News हमाल निर्णायक बन्दा संकटा सेमिफाइनलमा
गोलनेपाल

सिमरा । गणेश हमालले खेलको अन्तिमतिर निर्णायक गोल गरेपछि संकटा क्लब यहाँ जारी विश्वकर्मा सिमेन्ट ११औं जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा संकटाले विजय युथ क्लब, हेटौडाको चुनौति २–१ ले पन्छाउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । सिमरा रंगशालामा भएको खेलको नवौं मिनटमै जोन ग्लोरीको गोलबाट संकटाले खेलमा अग्रता बनाएको थियो ।

तर ३९औं मिनटमा विजय युथका लागि फोफोनाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । यद्यपि खेलको अन्तितिर ८४औं मिनटमा संकटाका लागि गणेश हमालले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनलमा पु–याउन सफल भए ।

खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबाबु थापा घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । मंगलबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । संकटाले दोस्रो सेमिफाइनलतर्फ बैशाख ९ गतेका दिन नेपाल एपिएफसँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत बैशाख ८ गते बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक नव जनजागृति युवा क्लब, सिमरा र अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनबीच हुने आयोजकले जनाएको छ ।

नव जनजागृति युवा क्लब, सिमराको आयोजना तथा जितपुर सिमरा उपमहानगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधि सहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि बैशाख ११ गतेका दिन हुनेछ ।

 

Post Comments