News सिमरा गोल्डकप फाइनलः पुरानै टक्कर र दोस्रो उपाधि जित्ने दाउमा संकटा र अफ्रिकन
गोलनेपाल

सिमरा । विश्वकर्मा सिमेन्ट ११औं जीतपुर सिमरा गोल्डकपको फाइनलमा शनिबार उपाधीका लागि संकटा क्लब र अफ्रिकन रुट्स एशोसिएशन भिड्दै छन् ।

जीतपुरसिमरा गोल्डकपको आठौं संस्करणको बिजेता संकटा दोस्रो पटक उपाधी जित्ने दाउमा रहदा पहिलो पटक सहभागिता जनाएको अफ्रिकन ईतिहास रच्ने योजनामा हुनेछ । पहिलो सहभागिता मै फाइनल पुगेको अफ्रिकन उपाधिका लागि उत्साहित पनि छ ।

फाइनल यात्रा तय गर्दासम्म उत्कृष्ट प्रदर्शन गरेका दुबै टिमलाई उपाधीको बलियो प्रत्याशी मानिएको थियो । अफ्रिकनले आफनो पहिलो खेलमा त्रिभुवन आर्मी फूटवल क्लबलाई र आयोजक नव जनजागृति युवा क्लबलाई समान २–१ ले पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो ।

संकटाले भने क्वार्टरफाईनलमा विजय युथ क्लबलाई २–१ र सेमिफाईनलमा बिभागिय टिम एपिएफ क्लबलाई ३–१ ले पराजित गर्दै अफ्रिकनसँगको फाइनल भेट पक्का गरेको थियो ।

यस सिजन संकटा र अफ्रिकन दुईपल्ट आमने सामने भएका छन् । र दुवैपल्ट संकटाले नतिजा आफ्नो पक्षमा पारेको छ । गत महिना सम्पन्न १९औं आहा! रारा गोल्डकपको फाइनलमा अफ्रिकनलाई टाईब्रेकरमा ४–३ ले हराएको संकटाले त्यसपछि बिराट गोल्डकपमा पनि अफ्रिकनलाई १–० ले पराजित गरेको थियो ।

त्यसैले पनि शनिबार हुने सिमरा गोल्डकपको फाइनलमा संकटा उच्च मनोबलका साथ उत्रिने छ । फाइनल खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संकटाका कप्तान सुवास गुरुङ भन्छन्, “अफ्रिकन बलियो टिम हो, तर यसअघिका दुई खेलको नतिजाले हाम्रो मनोबल उच्च छ । तेस्रो भिडन्तमा पनि हामी उस्तै नतिजा निकाल्नेमा विश्वस्त छौ ।”

उता यसअघिका दुई खेलमा नतिजा गुमाएको अफ्रिकनका कप्तान डिए स्याल्भियोले शनिबार भने नतिजा आफ्नो पक्षमा आउने बताए । उनी भन्छन्, “खेलमा हारजित हुन्छ, तर हामीले यसअघि उत्कृष्ट खेल पस्किएका छौ । संकटाले सहज जित हात पारेको छैन । यो पटक जित्ने रणनीतिसहित हामी मैदानमा उत्रनेछौ ।”

फाइनलसम्मको यात्रामा दुई टिमबाट उत्कृष्ट खेल प्रदर्शन गरेका दुबै टिमका एक–एक खेलाडीले उपाधी भिडन्त गुमाउनेछन् । अफ्रिकनका ए फ्याब्रिक र संकटाका फोडे फोफना फाईनलमा देखिने छैनन् । यसअघिको दुबै खेलमा दुबै खेलाडीले पहेलो कार्ड पाएकाले उनिहरुले अन्तिम खेल गुमाउने भएका हुन् ।

अफ्रिकनलाई पराजित गरे संकटाको जारी सिजनमा यो दोस्रो उपाधी हुनेछ । यसअघि आहारारा गोल्डकपको उपाधी संकटाले जितेको थियो । अफ्रिकनको पनि यो दोस्रो उपाधी हुनेछ । अफ्रिकनले यसअघि चितवनमा सम्पन्न विजय खड्गी स्मृति गोल्डकपको उपाधी जितेको थियो ।

प्रतियोगिताको उपाधी बिजेताले सात लाख र उपबिजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल र विधागत उत्कृष्ट भएका खेलाडीले जनही १५ हजार नगद प्राप्त गर्ने क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

 

Post Comments