News नवयुग देखी नवयुग सम्म !
राजकुमार श्रेष्ठ

नेपालको सुदूरपूर्वमा अवस्थित इलाम चारैतिर पहाडले घेरिएको छ। मनोरम प्राकृतिक भू–बनोट समशीतोष्ण हावापानी, होचा र हरिया पहाड र उर्वर भूमिले ढाकिएको यस जिल्लालाई त्यहाँका किसानको परिश्रम र जाँगरले सम्पन्न र समृद्ध बनाएको छ। साथै बिहानीपखको अन्तुबाट हुने सूर्योदयको सुनौलो घामको दृश्यावलोकनले झनै इलामलाई सुन्दर बनाएको छ ।

पुर्वी नेपालको सुन्दर ठाउँ इलाम जिल्लाको त्यतिखेर मंगलबारे गा.वि.सं. वडा न. १ र हाल देउमाई नगरपालिका वडा न. ४ मा वि.सं. २०४७-२-२५ गते बुबा चन्द्रकेशर श्रेष्ठ र आमा वसन्धरा श्रेष्ठको कोखबाट जेठा सन्तानका रुपमा नवयुग श्रेष्ठको जन्म भएको थियो । दुई सन्तानमा उनका एक बहिनी छन । उनी बाल्यकालमा निकै लजालु र कसैले केही कुरा भन्दा ``हस् ,हुन्छ ´´ भन्ने खालको स्वभावका थिए । अलि लजालु स्वभावका नवयुगले झापाको अर्जुनधाराको दिपज्योती इङलिस बोडिङ्ग स्कुलमा के.जी सम्म पढे भनी कक्षा १ देखि ५ सम्म इलामकै मंगलबारेको सुर्यदय शिक्षाशदन मा.वि. मा पढे र कक्षा ६ देखि १२ सम्म इलामकै मंगलबारेको श्री भानुभक्त उच्च मा.वि. बाट आफ्नो शिक्षा पुरा गरे । उनले एस.एल.सी. २०६२ र +२ २०६४ सालमा पास गरेका हुन । त्यसपछि उनले आफ्नो पढाईलाई अगाडी बढाउन सकेनन् ।

सानै उमेरबाट आफ्नो घरआँगन र विद्यालयमा मोजाको बल बनाएर, प्लास्टिकको बल बनाएर खेल्न सुरु गरेका थिए । उनका पिता चन्द्रकेशर पनि पहिला फुटबल खेलाडी र पेशाले शिक्षक भएकाले उनलाई विद्यालयबाट फर्किदा खेल सामाग्री ल्याइदिएको र आफू त्यस चिजले झन उत्साह मिल्ने गरेको बताउछन । घरपरिवारबाट श्रेष्ठलाई निकै साथ सहयोग रहेको थियो ।

विद्यालय स्तरमा फुटबल खेल्ने क्रममा गाउँकै स्थानीय उद्धिप क्लबले जुनियर फुटबल प्रतियोगिता वर्षेनी ४ फिट १० इन्चको उचाइ नापेर खेलाडी छनौट गरि प्रतियोगिता खेलेको स्मरण गर्छन् । आफ्नो खेलाडी जीवनलाई झन अगाडी बढाउन गाउँकै अर्को त्रिवेणी युथ क्लबबाट गा.वि.सं. स्तरीय र जिल्ला स्तरीय साथै अरु प्रतियोगिता खेल्दौ आफ्नो खेल कौसललाई झन उत्कृष्ट ढंगले प्रदर्शन गर्न पाएको र यस त्रिवेणी युथ क्लबलाई सधै आफ्नो मनमा राखेको र कहिले पनि बिर्सिन नसक्ने श्रेष्ठले सुनाए ।

श्रेष्ठको फुटबल खेल्ने शैलीलाई साथीभाइ, दाइहरुले ``तेरो खेल राम्रो छ, त पछि राम्रो स्तरमा खेल्न सक्छेस । मेहनत गर्दै जानु´´ भनेको कुरा उनलाई अहिले जस्तो लाग्छ । उनले वि.सं. २०६० सालमा काठमाडौमा हुने १४ वर्षमुनिको जिविस कप लागि इलाम जिल्लाको टिममा पर्दै खेल्न पाएका थिए । उत्कृष्ट खेल प्रदर्शनकै कारणले वि.सं. २०६० र २०६१ सालमा जिविस कपको उपाधी इलामलाई दिलाउन श्रेष्ठको पनि महत्वपूर्ण भुमिका रहेको थियो । त्यस वर्ष देखि जिविस कप भएन । त्यतिखेर इलामका यु-१४ का कोच दर्शन भक्त राजले उनलाई भनेका थिए, ``फुटबलमा भविष्य राम्रो छ, मेहनत गर्न कहिले नछोड्नु´´।

नवयुग फुर्सदको समयमा घरमा बस्दा बाटोमा आर्मीहरु हिडेको देख्दा १,२,३… गर्दै गन्ने र आर्मीले लगाएको लुगा, बोकेको बन्दुक सारै मन पर्ने भएकाले गर्दा पनि उनले वि.सं. २०६५ सालमा धनकुटाको कृष्णदल ब्यारेकबाट श्रेष्ठ नेपाली सेनामा भर्ती भए । आर्मीको तालिम सकेपछि उनले आर्मी भित्र हुने विभिन्न प्रतियोगिताहरु गण स्तरीय, गुल्म स्तरीय, पृतना स्तरीय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै वि.सं. २०६६ सालमा आर्मीको क्लबमा ट्रयाल दिन गएका थिए । आर्मीका त्यतिखेरका कोच डम्बर सिहं गुरुङले नवयुगको खेल्ने शैली मन पराउदै उनलाई आर्मीको टिममा खेल्ने मौका दिएका थिए । त्यसपछि उनले पछाडी फर्केर हेर्न परेन ।



वि.सं. २०६६ सालमा काठमाडौको दशरथ रंगशालामा भएको खेलबाट आर्मी क्लबबाट डेब्यु गरेका थिए । अग्रपंक्तिको भागमा खेल्दा नवयुग श्रेष्ठले आर्मीमा गोल नगरेको खेल बिरलै हुन्थे । लेफ्ट राइट दुवै खुट्टा चल्ने, तीव्र गतिमा बल अघि बढाउने र साघुरो ठाउँबाट पनि गोल गर्न सक्ने श्रेष्ठका विशेष खुबी थिए । उच्च लयमा हुदाँ ३/४ जनालाई आँखा नदेख्ने श्रेष्ठको खुट्टाबाट गोल खोस्न निकै हम्मेहम्मे नै हुन्थ्यिो ।

नवयुग श्रेष्ठ पहिले आफुलाई सेनाको मान्छे हुँ भन्न मनपराउछ्न र त्यसपछि मात्र फुटबलर ।

"म सेनामा भर्ती भए पछि मात्र म फुटबल टीमको सदस्य बन्न पुगें। त्यसो हुँदा म आफूलाई जहिले पनि नेपालको सेना भन्न चाहन्छु। यसरी आर्मी क्लबमा उच्च लयमा हुँदा सन २०१५ मा भारतको पुनेमा भारतसँग भएको मैत्रीपुर्ण खेलमा लेफ्ट मिड फील्डरबाट उनले अन्तर्राष्ट्रियस्तरमा पहिलो डेब्यु गरेका थिए ।

युद्ध र खेलमा विजयको ठूलो महत्व हुन्छ । कमान्डरहरू जतिसुकै दक्ष भए पनि जुन युद्ध जितिँदैन, त्यसको कुनै अर्थ हुँदैन । खेलाडीहरू जतिसुकै कुशल हुन्, जुन खेल जितिँदैन त्यसको चर्चा कसैले गर्दैन । नेतृत्वतहमा राजनीति र म्याच फिक्सिङ, खेलको तहमा गुटबन्दी र खेलाडीहरूबीच आपसी ईष्र्याको भुमरीमा परेर ओरालो लागेको नेपाली फुटबल संसार लामो समयदेखि भोको थियो, जितको । स्वार्थको राजनीति र भ्रष्टाचारले तहस–नहस भएको फुटबल संस्था अस्तव्यस्त थियो । आशाको सानो त्यान्द्रो पनि कतै देखिँदैनथ्यो ।

नेपाली फुटबल र नवयुग श्रेष्ठले सम्झने दिन हो, २०७२ माघ ५ । बंगालदेशमा आयोजना भएको बंगबन्धु कपमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेर चर्चामा आउदै नेपालले इतिहास रच्दै २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जित्यो । नेपाललाई बंगबन्धु कपको उपाधी दिलाउन महत्वपूर्ण भुमिका रहेको थियो।

श्रेष्ठले खेल प्रेमीलाई आशा दिलाएसँगै उनीहरुमाझ चर्चित बन्न पुगे । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा हालसम्म ह्याट्रिक गर्ने कीर्तिमान खेलाडीको यात्रामा आफ्नो नाम पाचौं खेलाडीमा लेखाउन सफल श्रेष्ठले यो ६ वर्षको अवधिमा खेल क्षेत्रमा फड्को मारेका छन् ।

श्रेष्ठले सन २०१६ बंगालदेशमा भएको बंगबन्धु कप, सन २०१६ मलेसियामा भएको एफसी सोलिडारिटी कप र सन २०१९ नेपालमा भएको साग च्याम्पियनसिपको उपाधी नेपाललाई दिलाउन सफल भएका छन । उनले नेपालबाट अहिले सम्म लगभग २७ क्याप खेली सकेका छन, भने फिफाबाट मान्यता प्राप्त गोल नेपालका लागि ६ गोल गरेका छन ।

जुनसुकै विधामा लागेका खेलाडीलाई एउटै चिन्ता छ - भविष्यको । खेल्न सकुञ्जेल हो खेलाडीको चर्चा । त्यस कारण खेलाडी भनेको खेलुन्जेल अर्थात् खुट्टा चलुन्जेल मात्र हाइहाइ रहेछ भन्ने बुझाइ उनमा हावी छ । ‘हामीकहाँ राष्ट्रिय खेलाडी उति धेरै छैनन्,’ उनी भन्छन्, ‘एउटा मापदण्ड बनाएर सरकारले राष्ट्रलाई योगदान दिएका खेलाडीका लागि पेन्सनको व्यवस्था गरे हाम्रो मेहनतको सम्मान हुनेथियो।’

लगनशील र परिश्रमी श्रेष्ठ सपना पुरा गर्न मिहिनेत र धैर्यता आवश्यक पर्नेमा विश्वास गर्छन् । आफ्ना गल्तीहरू के–के छन् तिनलाई सुधार्नेतर्फ केन्द्रित हुनुपर्छ । व्यक्तिगत स्वास्थ्यको ख्याल गर्नुपर्छ । खानपानमा सतर्क हुनुपर्छ । खेल्ने भनेको शरीरको शक्ति हो । त्यसलाई चुक्न दिनु हुँदैन । 

श्रेष्ठ अहिले नेपाली सेनामा कार्यरत भएको १३ वर्ष भयो । उनी नेपाली सेनाको सुबेदार पदमा छ्न । कालिबक्स गणका सम्पूर्ण परिवार साथै नेपाल आर्मीलाई नै धन्यवाद व्यक्त गर्न चाहे । आफ्नो खेल जीवन सकेपछि भविष्यमा कुनै व्यवसाय गर्ने मनसाय छ ।

राति ओछ्यानमा पल्टिएपछि पुराना रोमान्टिक गीतहरू सुनेर आनन्द लिनु नवयुगको सोख हो

‘गीत यही भन्ने छैन, रोमान्टिक हुनुपर्छ ।’ उमेरले ३१ वर्ष पूरा हुन लागेको नवयुगले वैवाहिक जीवन अझै कसेका छैनन् ।

‘विवाहको विगुल बजाउन मन लागेको छैन ? दबाब त होला नि आफ्नो र उनको घर, दुवैतिरबाट ?’ नवयुगको जवाफ थियो, ‘घरबाट अलिअलि दबाब होला । मुसुक्क मुसकुरादै अब एक दुई वर्षमा बिहे गर्ने योजना रहेको बताए ।
Post Comments