News फुटबलका लागि नाम जस्तै छन् 'जीवन', जावलाखेललाई गरे दुई लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग
सुरज राना मगर

चितवन । आफूलाई फुटबलपारखीका रुपमा चिनाउने जीवन वाईबाले चर्चित ए डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

पेशाले मेडिकल व्यवसायी समेत रहेका वाइबाले आफ्नो परिवारका अन्य सदस्यहरुको उपस्थितिमा जावलाखेललाई आश्यक पर्ने मेडिकल सामाग्री सहयोग गरेका हुन् ।

वाईबाले सहयोग सामाग्री हस्तान्तरण गर्दै यो कठिन परिस्थतिमा लिग आयोजना हुन गईरहेकाले खेलाडीहरुको स्वास्थ्य स्थिति पनि बलियो हुनुपर्ने धारणा राखे । उनले यस महामारीको अवस्थामा आउँदो ए डिभिजन लिगलाई ध्यानमा राख्दै क्लबलाई आफूले सकेको सहयोग गरेको बताए ।

“यो बेला अन्यसरह फुटबल खेलाडीहरु पनि मारमा परेका छन् । अबको केही महिनामा लिग शुरु हुन्छ । मैदानमा उनीहरुको पहिलो प्राथमिकता मध्ये एउटा स्वास्थ्य सुरक्षा पनि हो । म आफू पनि स्वास्थ्य सेवासँगै जोडिएका कारण सो सम्बन्धी सहयोग क्लबलाई गरेको छु ।”

मोफसलको फुटबलमा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाएको लेखनाथ युनाइटेड, कास्कीका अध्यक्ष समेत हुन वाईबा । उनी अगाडी भन्छन्, “फुटबलप्रतिको लगाव मेरो मात्र नभएर परिवारको पनि छ । यसमा मलाई श्रीमती (साबित्री मोक्तान) ले पनि निरन्तर साथ र सहयोग दिईरहेकी छिन् ।”

चितवनका स्थायी वासिन्दा वाईबासँग केही बर्ष यता फुटबलसँग नजिकिएको राम्रो अनुभव पनि छ । फुटबल खेलाडीहरुलाई उनीहरुको क्षमताअनुसार सम्बन्धित क्षेत्रले मुल्यांकन गरेर फुटबल मै भविष्य बनाउने अवसर मिलाइदिनुपर्ने वाईबाको बुझाई छ ।

स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रमको अवसरमा जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री तथा सचिव कविर बस्नेतलगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

 

Post Comments