News यस बर्ष पनि देवेन्द्र मच्छिन्द्र कै 'खम्बा'
गोलनेपाल

काठमाडौं । भरपर्दा डिफेन्डर देवेन्द्र तामाङले लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबसँग आफ्नो सम्झौता थप एक बर्षका लागि नवीकरण गरेका छन् ।

देवेन्द्रसँगको सम्झौताबारे मच्छिन्द्रले आफ्नो आधिकारिक फेसबुकमार्फत बुधबार पुष्टी समेत गरेको छ । यो सम्झौतासँगै देवेन्द्रले यस बर्ष हुने शहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र कै लागि खेल्ने छन् ।

गत सिजन पनि मच्छिन्द्र कै लागि खेलेका देवेन्द्रले टोलीलाई लिग च्याम्पियन बनाउन अहम भूमिका खेलेका थिए । क्लबसँगको नयाँ सम्झौतालाई लिएर उत्साहित देवेन्द्र भन्छन्, “यो बर्षको लिग पनि मच्छिन्द्र कै लागि खेल्न पाउँदा खुशी र उत्साहित छु । क्लबलाई सफलता हात पार्न मेरोतर्फबाट सकेको मिहिनेत गर्नेछु ।”

स्मरण रहोस, मच्छिन्द्रले गत सिजन क्लबका लागि खेलेका रन्जित धिमाल, अभिषेक रिजाल, रेजिन सुब्बा, बिशाल श्रेष्ठ तथा सुजल श्रेष्ठसँग पनि सम्झौता नविकरण गरिसकेको छ । साथै क्लबले उदाउँदा स्टार मनिष डाँगीलाई पनि अनुवन्ध गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस बर्षको ए डिभिजन लिग आगामी कार्तिक २९ गतेदेखि हुने घोषणा गरिसकेको छ । यस बर्षको लिग विजेताले उपाधिसहित नगद ७५ लाख हात पार्नेछ ।

Post Comments