News कैलाली: जानकी गाउँपालिकाले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा प्रतिष्पर्धा गर्ने
गोलनेपाल

आगामी कार्तिक महिनादेखि शुरु हुन गईरहेको उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा कैलालीको जानकी गाउँपालिकाले पनि प्रतिष्पर्धा गर्ने भएको छ ।

पूर्वी कैलाली क्षेत्रमा पर्ने जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप कुमार चौधरी र उपाध्यक्ष उमा महतोसहित पालिका पदाधिकारीहरु बुधबार कटासें फुटबल ग्राउण्डमा उपस्थित भइ उक्त घोषणा गरेका हुन् ।

गाउपालिका अध्यक्ष, उपाध्यक्ष लगायत पदाधिकारीहरुले विभिन्न वडाबाट छनौट भएका ६५ खेलाडीहरुसँग अन्तरक्रिया गरी हौसला प्रदान गरे ।

"कैलालीका अन्य नगरपालिका र गाउँपालिकाले के गर्छन् थाह भएन, तर हाम्रो पालिकाले आफ्नो ठाउँलाई राष्ट्रियस्तरमा चिनाउनका लागि र स्थानीय प्रतिभालाई केन्द्रीय स्तरमा क्षमता देखाउने अवसर प्रदान गर्न एन्फाले आयोजना गरेको राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुने निर्णयमा पुगेका हौं ", जानकी गाउँपालिका अध्यक्ष प्रदीप कुमार चौधरीले भने । 

अध्यक्ष चौधरीले प्रारम्भ्कि चरणमा छनौट भएका खेलाडीहरुको डाइट र स्वास्थ्यजन्य किट्स छिट्टै उपलब्ध गराउने जानकारी दिए ।

"तपाईहरु एकदमै अनुशाषित तवरमा अभ्यास गर्नुहोला, खेलाडीलाई हौसला दिदै चौधरीले अगाडि भने, ६५ खेलाडीमध्ये २२ खेलाडीले मात्र यसपालि राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्ने मौका पाउनेछन्, बाकीले आफूले नपाएकोमा हरेष नखानुहोला । अर्को वर्षका लागि अझ मिहिनेत गर्नुहोला । गाउपालिका उपाध्यक्ष उमा महतोले खेलाडी छनौट र तालिम प्रक्रियामा पालिका र रारा फाउण्डेशनसँगको सहकार्य उदाहरणीय काम भएको बताइन् ।

टोलीको प्रशिक्षकीय जिम्मेवारी महिला फुटबल प्रशिक्षक लक्ष्मी श्रेष्ठ र सुदूरपश्चिमका चर्चित फुटबल खेलाडी माधव भण्डारीले सम्हाल्ने छन् । प्रशिक्षक लक्ष्मी श्रेष्ठले डेढ महिनाको अवधिमा छनौट भएका खेलाडीहरुलाई क्लोज क्याम्पमा राखेर अध्यापन सँगसँगै फुटबल प्रशिक्षण दिनुपर्ने चुनौति रहेको प्रष्ट्याइन् । प्रारम्भिक छनौट घोषणा कार्यक्रममा मनुवा कञ्चनपुरबाट ३, सुवर्णपुर, लायकपुरबाट ९, जगतपुरबाट ११, पालबजारबाट १७ र कटासें बक्लहवाबाट २५ जना सहभागी भएका छन् । ६५ जनालाई १० दिन संयुक्तरुपमा प्रशिक्षण दिइनेछ । त्यसपछि ३० जनालाई छनौट गरी उनीहरुलाई पूर्णरुपमा क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिइने प्रशिक्षक लक्ष्मीले जानकारी दिइन् ।

Post Comments