News बिमलले मच्छिन्द्रबाटै लिग खेल्ने
गोलनेपाल

काठमाडौं । लामो समयपछि फुटबलमा पूनःरागमन गर्न लागेका चर्चित फरवार्ड बिमल घर्ती मगरले लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबबाटै यस सिजनको शहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

गत सिजन पनि मच्छिन्द्र कै लागि खेलेका बिमलले आइतबार क्लबसँग थप एक बर्षका लागि नयाँ सम्झौता गरे । यो सम्झौतासँगै यसै महिनाको अन्तिमदेखि शुरु हुन गईरहेको ए डिभिजन लिगमा बिमल मच्छिन्द्र कै जर्सीमा देखिने पक्का भएको छ ।

आइतबार एक कार्यक्रमका बीच मच्छिन्द्र फुटबल क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र बिमलले सम्झौतापत्रमा हस्ताक्षर गरे । यद्यपि दुवै पक्षबीच भएको आर्थिक सम्झौताबारे भने खुलाइएको छैन ।

लामो समयपछि मैदानमा फर्किदै बिमल

गत बर्षको पुषमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेकै बेला चोटिल बनेका बिमल त्यसयता मैदान बाहिर थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष पहलमा उनले कतारको प्रतिष्ठित एस्पिटर अस्पतालमा उपचार गराएर हालै स्वदेश फर्किएका थिए ।

उनलाई अन्य क्लबले अनुवन्ध गर्न चासो देखाए तापनि बिमलले मच्छिन्द्रलाई नै रोजे । बिमलले गत सिजनको लिगमा पनि अन्तिम खेल मच्छिन्द्रबाटै खेलेका थिए । संयोग मान्नुपर्छ, बिमलले खेलेकै म्याच पछि मच्छिन्द्र लिग च्याम्पियन पनि बनेको थियो ।

क्लबले हाल चल्तीका युवा फरवार्ड मनिष डाँगी र अभिषेक रिजाललाई पनि अनुवन्ध गरिसकेको छ । बिमलले यस सिजनको शुरुवातबाटै मच्छिन्द्रका लागि खेल्ने भएपछि टोलीको अग्रपंक्ति थप बलियो हुने अनुमान गरिएको छ ।

यहि कार्तिक २९ गतेदेखि शुरु हुन गईरहेको शहिद स्मारक ए डिभिजन लिगमा कुल १४ ए डिभिजन क्लबहरुले सहभागिता जनाउँदैछन् । यसपटक लिग विजेताले उपाधिसहित नगद ७५ लाख प्राप्त गर्नेछ ।

Post Comments