News बंगलादेशसँग निराश बन्यो माल्दिभ्स
गोलनेपाल

काठमाडौं (एजेन्सी) । श्रीलंकामा जारी चार देशीय प्राईम मिनिष्टर महिन्दा राजपाक्ष ट्रफीमा बंगलादेशले लिगचरणको दोस्रो खेलमा माल्दिभ्सलाई हराएर फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

शनिबार कोलोम्बो स्थित रेसकोर्ष मैदानमा भएको पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई २–१ ले निराश तुल्याउँदै महत्वपूर्ण तीन अंक जोड्यो । खेलको ११औं मिनटमै जमल भुयनको गोलबाट अग्रता बनाएको बंगलादेशले त्यसलाई पहिलो हाफसम्म पनि कायम राख्न सकेन ।

३२औं मिनटमा मोहम्मद उमैरले बराबरी गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काएका थिए । यद्यपि खेलको अन्तिमतिर बंगलादेशले पेनाल्टीको अवसर पायो । माल्दिभ्सका गोलरक्षक अली नाजिले बल क्लियर गर्ने क्रममा बक्स भित्र विपक्षी खेलाडीलाई फल गरेपछि बंगलादेशले पेनाल्टीको अवसर पाएको थियो ।

जुन पेनाल्टी अवसरलाई ८८औं मिनटमा टोपु बर्मनले कुनै गल्ती नगरी गोलमा परिणत गर्दै बंगलादेशलाई रोमाञ्चक जित दिलाएका थिए । स्मरण रहोस, यसअघि बंगलादेशले आफ्नो पहिलो खेलमा सिचेलेससँग १–१ को बराबरी खेलेको थियो भने माल्दिभ्सलाई आयोजक श्रीलंकासँग ४–४ गोलको बराबरी खेलेको थियो ।

बंगलादेशले आफ्नो अन्तिम खेल १६ नोभेम्बरका दिन श्रीलंकासँग खेल्नेछ भने सोही दिन माल्दिभ्सले सेसेल्सको सामना गर्नेछ । समूहको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् ।

Post Comments