News बंगलादेशलाई हराउँदै श्रीलंका फाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । निर्णायक मानिएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई निराश पार्दै आयोजक श्रीलंका जारी चार देशीय प्राईम मिनिस्टर महिन्दा राजपक्ष ट्रफीको फाइनलमा प्रवेश गरेको छ ।

अन्तिम खेलमा फाइनल प्रवेशका लागि बंगलादेशलाई केवल बराबरी गरे प्रर्याप्त थियो भने श्रीलंकालाई निश्चित जितको खाँचो थियो । जुन खेलमा श्रीलंकाले नतिजा २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

श्रीलंकाका लागि अहमद रजिक फेरि नायक रहे । माल्दिभ्स विरुद्ध पनि एक्लैले चार गोल गरेका रजिकले बंगलादेश विरुद्धको खेलमा पनि दुवै गोल आफ्नो नाममा लेखाए । खेलको २४औं मिनटमा रजिकले श्रीलंकालाई अग्रता दिलाएका थिए ।

यद्यपि दोस्रो हाफको ७२औं मिनटमा जिवेल रानाले बंगलादेशका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । निर्धारित समयको खेल बराबरीतर्फ लम्किरहेका बेला इन्जुरी समयमा रजिकले नै घरेलु टोलीका लागि निर्णायक गोल गर्दै श्रीलंकालाई फाइनलमा पुर्याउन अहम भूमिका खेले ।

श्रीलंकाले अब फाइनलमा शुक्रबार सेसेल्सको सामना गर्नेछ । सेसेल्सले मंगलबार नै भएको पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेल्दै अंक बटुलेको थियो । समग्रमा ५ अंक जोडेको सेसेल्स समुह विजेता बन्यो । त्यस्तै ४ अंकका साथ श्रीलंका उपविजेता बन्यो ।

समान ४ अंक जोडे तापनि बंगलादेश श्रीलंका भन्दा पछि पर्न पुग्यो । २ अंक जोडेको माल्दिभ्स पुछारमा रह्यो । साथै बंगलादेश र माल्दिभ्स प्रतियोगिताबाट पनि बाहिरिएका छन् ।

 

Post Comments