News लिगको पहिलो जित थ्रीस्टारको नाममा
गोलनेपाल

काठमाडौं । लिग उपाधिको दावेदार मध्ये एक रुस्लान थ्रीस्टार क्लबले जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा नयाँ सिजनको पहिलो जित हात पारेको छ । यसअघि शुक्रबार भएको फ्रेण्डस र सातदोबाटो बीचको उद्घाटन खेल र शनिबार भएको संकटा र शेर्पा बीचको पहिलो खेल पनि बराबरीमा सकिएको थियो ।

दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा थ्रीस्टारले च्यासल युथ क्लबमाथि ३–० को जित निकाल्दै नयाँ सिजनको लिगमा पहिलो जित दर्ता गरेको हो । थ्रीस्टारको जितमा खेलको २१औं मिनटमा निशान खड्काले उत्कृष्ट फ्रिकिक गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाए ।

लगतै च्यासलले पेनाल्टीको अवसर पायो । तर बिकास मेराग्लियाको पेनाल्टी प्रहार थ्रीस्टारका गोलरक्षकले विफल तुल्याइदिएका थिए । पहिलो हाफ कै ४४औं मिनटमा राफेल रिमले थ्रीस्टारको अग्रता दोब्बर पारे । खेलको ४६औं मिनटमा अनन्त तामाङले तेस्रो गोल गर्दै टोलीको प्रभावशाली जित पक्का गरे ।

यो जितसँगै थ्रीस्टारले महत्वपुर्ण ३ अंक जोड्न समेत सफल भएको छ । खेलमा थ्रीस्टारका निशान खड्का म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

Post Comments