News वार्ड नम्बर २० र १६ सेमिफाइनलमा
गोलनेपाल

इटहरी । आ–आफ्नो खेलमा टाईब्रेकरमा समान अन्तरको जित निकाल्दै वार्ड नम्बर २० र वार्ड नम्बर १६ जारी प्रथम इटहरी रनिङ फुटबल कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इटहरी स्थित क्षेत्रीय रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा वार्ड नम्बर २० ले वार्ड नम्बर १० लाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ वार्ड नम्बर २० का लागि खेलको छैठौं मिनटमा सुमन लिम्बुले पहिलो गोल गरेका थिए भने २३औं मिनटमा बिशाल गुरुङले दोस्रो गोल गरेका थिए । उता वार्ड नम्बर १० का लागि दुवै गोल २२ र ३०औं मिनटमा जय नारायण चौधरीले गरेका थिए ।

खेलको म्यान अफ द म्याच वार्ड नम्बर २० का फूलबीर तामाङ घोषित भए । उनलाई मोरङ जिल्ला फुटबल संघका महासचिव प्रकाश मास्केले एक थान मोबाइल सेटसहित पुरस्कृत गरे ।

त्यस्तै चौथो तथा अन्तिम क्वाटरफाइनलमा वार्ड नम्बर १६ ले वार्ड नम्बर २ लाई टाईब्रेकरमा समान ४–२ गोल अन्तरले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलमा वार्ड नम्बर २ का लागि खेलको २६औं मिनटमा अनिश बस्नेतले गोल गरेका थिए भने वार्ड नम्बर १६ का लागि ५६औं मिनटमा सुरज भुजेलले बराबरी गोल फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच वार्ड नम्बर १६ का निरज चौधरी घोषित भए । उनले पनि पुरस्कार वापत एक थान मोबाइल सेट हात पारे ।

प्रतियोगिता अन्तरगत मंसिर १७ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल वार्ड नम्बर ५ र वार्ड नम्बर २० बीच हुने आयोजकले जानकारी दियो ।

इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि मंसिर २० गतेका दिन हुनेछ ।

 

Post Comments