News लिग नखेलाउने भन्दै रेफ्रीहरुको सामूहिक राजिनामा
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित शहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरण सूचारु हुनुको पूर्वसन्ध्या मै अखिल नेपाल फुटबल संघ (एन्फा) र रेफ्रीहरुबीचको विवाद चुलिएको छ ।

एन्फाले रेफ्रीहरुका लागि फिटनेस टेष्टका लागि बाध्यकारी नियम बनाएको भन्दै १४ जना रेफ्रीहरुले सामुहिक राजिनामा दिएका छन् । राजिनामासँगै रेफ्रीहरुले जारी ए डिभिजन लिग पनि नखेलाउने घोषणा गरेका छन् ।

बिहीबार सामूहिक राजिनामा दिने क्रममा रेफ्रीहरुले एन्फा अध्यक्षलाई सम्वोधन गरि राजिनामा पत्र पनि लेखेर बुझाएका छन् । खबरअनुसार हाल लिग चलिरहेकै बेला एन्फाले सबै रेफ्रीहरुलाई फिटनेस टेष्ट दिनुपर्ने अनिवार्य नियम बनाएको थियो ।

यद्यपि रेफ्रीहरुले लिग जारी रहेकै बेला फिटनेस टेष्ट दिन नमिल्ने बताएका थिए । तर एन्फाले आफ्नो निर्णयमा अडान राखेपछि रेफ्रीहरुले संयुक्त राजिनामा दिएको बुझिएको छ ।

संयुक्त राजिनामा दिनेमा फिफा रेफ्री, फिफा सहायक रेफ्री तथा नेशनल रेफ्रीहरु पनि छन् । जसमा प्रकाशनाथ श्रेष्ठ, नबिन्द्र महर्जन, प्रज्ज्वल क्षेत्री, ननिराम थापा मगर, सहदेव क्षेत्री, किशन यादव जस्ता चल्तीका नामहरु पनि सामेल छन् ।

स्मरण रहोस, एन्फाले यसअघि रेफ्रीहरुको फिटनेस टेष्ट वार्षिक रुपमा गर्दै आएको थियो । तर रेफ्री निर्देशकमा गौतम कौर नियुत्तः भएपछि उनले तीन–तीन महिनामा रेफ्रीहरुको फिटनेस टेष्ट लिनुपर्ने नियम बनाएका थिए ।

लिगको तेस्रो चरणको खेलहरु शुक्रबारदेखि शुरु हुँदै छन् । त्यसकै पूर्व सन्ध्यामा रेफ्रीहरुले सामुहिक राजिनामा दिएपछि लिग सञ्चालन गर्न समस्या हुने देखिएको छ । यसबारे एन्फाले अब के कस्तो कदम चाल्ने हो, त्यो भने हेर्न बाँकी छ ।

Post Comments