News बंगलादेश र भारतको फराकिलो जित
गोलनेपाल

काठमाडौं । जारी साफ यु–१९ महिला च्याम्पियनसिपमा सोमबार साविक विजेता तथा आयोजक बंगलादेश र दावेदार मध्ये एक भारतले फराकिलो जित हात पारेका छन् ।

लिग चरणको आफ्नो पहिलो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको बंगलादेशले सोमबार भएको पहिलो खेलमा भुटानलाई ६–० को फराकिलो अन्तरले हरायो । स्मरणीय छ, भुटानले प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकामाथि ५–० को जित निकालेको थियो । तर त्यो प्रदर्शनलाई भुटानले श्रीलंका विरुद्ध दोहोर्याउन सकेन ।

त्यस्तै अर्को खेलमा आफ्नो पहिलो म्याच खेलिरहेको भारतले श्रीलंकालाई ५–० को फराकिलो अन्तरले हरायो । लगातार दोस्रो हार बेहोरेको श्रीलंकाको फाइनलमा पुग्ने सम्भावना कठिन बनेको छ । श्रीलंकाले आफ्नो तेस्रो खेल बुधबार नेपालसँग खेल्ने कार्यक्रम छ ।

सोमबारको नतिजापछि २ खेलबाट ४ अंक जोडेको बंगलादेश शिर्ष स्थानमा छ । ३ अंकका साथ भारत दोस्रो स्थानमा छ । समान ३ अंक जोडेको भुटान तेस्रो स्थानमा रहँदा १ अंकका साथ नेपाल चौथो स्थानमा छ । अंकविहीन श्रीलंका भने पुछारमा छ ।

प्रतियोगितामा दक्षिण एसियाका कुल ५ टोलीहरु सहभागि छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल डिसेम्बर २२ तारीखका दिन हुने कार्यक्रम छ ।

 

Post Comments