News लिगको ठूलो जित मनाङको नाममा
उमेश पुन

पोखरा । आठपल्टको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले शहिद स्मारक ए डिभिजन लिगमा शनिबार सिजनकै फराकिलो जित दर्ता गरेको छ । आफ्नो घरेलु मैदान पोखरा रंगशालामा भएको खेलमा मनाङले संघर्षरत टोली च्यासल युथ क्लबमाथि ५–० को एकतर्फी जित निकाल्यो ।

मनाङको जितमा आफिज ओलावालेले ह्याट्रिक गरे । ओलावालेले खेलको ४३, ९०+२ र ९०+४औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यद्यपि खेलमा मनाङका लागि तेस्रो मिनटमै अडिलेजा सोमिडेले गोल गर्दै खाता खोलेका थिए । त्यस्तै थप एक गोल भने ८६औं मिनटमा दिनेश राजवंशीले गरे ।

खेलमा ह्याट्रिककर्ता ओलावाले म्यान अफ द म्याच समेत घोषित भए । उनले दश हजार र ट्रफी पनि हात पारे । यो नतिजापछि ८ खेलबाट १९ अंक जोडेको मनाङ दोस्रो स्थानमा छ । पराजित च्यासल भने ५ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थान मै संघर्षरत छ ।

Post Comments