News मच्छिन्द्र र आर्मीको समान अन्तरको जित
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ शनिबार काठमाडौंमा भएका दुई खेलहरुमा समान अन्तरको नतिजा निस्किएको छ । दशरथ रंगशालामा भएको पहिलो खेलमा मच्छिन्द्रले फ्रेण्डस क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदा दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले न्युरोडटिम (एनआरटी) माथि समान १–० को जित दर्ता गर्यो ।

पहिलो खेलमा मच्छिन्द्रले आत्मघाती गोलले महत्वपूर्ण तीन अंक बटुल्न सफल भयो । ६७औं मिनटमा फ्रेण्डसका जमुल एन्थोनीले आत्मघाती गोल गर्दा मच्छिन्द्रले खेलमा खाता खोल्न सफल भएको थियो । जुन आत्मघाती गोल नै खेलको निर्णायक गोल पनि बन्यो ।

खेलमा मच्छिन्द्रका देवेन्द्र तामाङ म्यान अफ द म्याच घोषित भए । यो नतिजापछि ८ खेलबाट २० अंक जोडेको मच्छिन्द्र शिर्ष स्थानमा यथावत छ । यद्यपि दोस्रो स्थानमा रहेको मनाङ भन्दा १ अंकले मात्र अगाडी छ । उता पराजित फ्रेण्डस भने ३ अंकका साथ पुछारमा छ ।

त्यस्तै दोस्रो खेलमा आर्मीले एनआरटीलाई १–० ले हराउँदा पहिलो हाफको १७औं मिनटमा दिनेश हेन्जनले गरेको एक मात्र गोल आर्मीलाई जित दिलाउन प्रर्याप्त बन्यो । निर्णायक गोलकर्ता हेन्जन नै म्यान अफ द म्याच समेत चुनिए ।

यो जितपछि ८ खेलबाट १४ अंक जोडेको आर्मी चौथो स्थानमा छ । उता पराजित एनआरटी भने १० अंकका साथ लिगतालिकाको सातौं स्थानमा छ ।

Post Comments