News हिमालय देवी कप शुरु, हरमटारीको विजयी शुरुवात
सुरज राना मगर

घैरुङ । सोमबारदेखि गोरखाको शहिद लखन गाउँपालिका स्थित पिपलछाप, घैरुङमा शुरु हिमालयदेवी कप खुला नकआउट फुटबल प्रतियोगितामा साविक विजेता हरामटारी एफसीले विजयी शुरुवात गरेको छ ।

लखन गाउँपालिका–६ स्थित शहिद लखन खेलमैदानमा भएको उद्घाटन खेलमा हरमटारीले मकैसिंह एफसी विरुद्ध ३–० को उत्कृष्ट जित निकाल्दै विजयी शुरुवात गरेको हो ।

हरमटारीका लागि खेलको २२औं मिनटमा अनिल आले मगरले पहिलो गोल गरेका थिए । ४२औं मिनटमा सन्दिप राना मगरले दोस्रो गोल थपे भने ४९औं मिनटमा सजिन थापा मगरले तेस्रो गोल गर्दै हरमटारीको जित सुनिश्चित गरे ।

हिमालयदेवी युवा क्लब, शहिद लखन गाउँपालिका–६, पिपलछाप, घैरुङ गोरखाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख २० हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक तिलक गुरुङले जानकारी दिए ।

शहिद लखन गाउँपालिकाको मुख्य प्रायोजन र टेन्सबर्ग ब्रुअरी प्रा.लि. को प्रायोजन रहेको प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको संयोजक गुरुङले बताए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच आयोजक क्लबका संस्था सदस्य तथा समाजसेवी जित बहादुर गुरुङ र क्लबका अध्यक्ष निर्मल गुरुङले संयुक्त रुपमा गरेका थिए ।

परम्परा र सँस्कृति जोगाउँदै क्लबः अध्यक्ष गुरुङ

आयोजक हिमालयदेवी युवा क्लबले वार्षिक रुपमा फुटबल प्रतियोगिता आयोजना गरिरहेको भए तापनि क्लबले प्रतियोगितासँगै विभिन्न परम्परागत साँस्कृतिक र सामाजिक कार्यक्रमहरु पनि आयोजना गर्दै आइरहेको क्लबका अध्यक्ष निर्मल गुरुङले बताए ।

उनले खेलकुदको आयोजना गर्दा स्थानीय खेलक्षेत्र र युवापुस्तालाई सकरात्मक बाटोतर्फ डोर्याउन सहयोग पुग्ने बताउँदै क्लबले त्यसबाहेक माघी मेला र गोरु जुधाई जस्ता परम्परागत रमाइला कार्यक्रमहरु पनि आयोजना गर्ने गरेको अध्यक्ष गुरुङले बताए । साथै क्लबले समय–समयमा सामाजिक उत्तरदायित्वलाई पनि वहन गर्दै विभिन्न समयमा सामाजिक गतिविधिहरु पनि गर्ने गरेको उनले सुनाए ।

क्लबले स्थानीय विपन्न परिवारलाई विषम परिस्थितिमा सहयोग गर्नुका साथै, सडक, पूर्वाधार लगायत गाउँभित्रका अन्य सामाजिक क्रियाकलापहरुमा पनि सक्रिय भएर सहभागिता जनाउँदै आइरहेको उनले बताए ।

 

Post Comments