गोरखा । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा गोरखा नगरपालिका वडा नम्बर -१० स्थित छेवेटार खेलमैदानमा शनिबार सम्पन्न प्रथम पृथ्वीनारायण गोल्डकप प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले चित्लाङ फुटबल क्लबलाई साँघुरो नतिजामा पराजित गर्दै ऐतिहासिक उपलब्धि हात पार्न सफल भएको हो।
उक्त खेलमा चित्लाङ फुटबल क्लबलाई १ - ० गोल अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले उपाधि रक्षा गरेको हो। पहिलो हाफको ४० औं मिनेटमा ओसेन्द्र कटुवालले सुन्दर गोल मार्फत पुलिसलाई अग्रता दिलाएका थिए। तसर्थ पहिलो हाफमा नेपाल पुलिस क्लबले एक गोलको अग्रता बनाएको थियो।
दोस्रो हाफ थप रोमाञ्चक बन्दा चित्लाङ फुटबल क्लबले दबाब सृर्जना गरेता पनि बराबरी गोल गर्न नसक्दा उपविजेतामा चित्त बुझाएको छ। फाइनल खेलमा एकमात्र निर्णायक गोल गरेका ओसेन्द्र कटुवाल उक्त खेलको म्यान अफ दि म्याच बन्दै नगद रु. ५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
व्यक्तिगत विधातर्फ पुलिसको वर्चस्व रहँदा प्रतियोगिताको उत्कृष्ट गोलकिपर पुलिसका राजिव राई, प्रतियोगिताको उत्कृष्ट कोच पुलिसकै संजित श्रेष्ठ बन्दै जनही रू.१५००० प्राप्त गरेका छन्। साथै प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडी चित्लाङ फुटबल क्लबका कप्तान सकल रेग्मी बनेका हुन् ,उनले नगद रु.२५००० प्राप्त गरेका छन्।
