News रोमाञ्चक खेलमा पुलिस र बीबीसीको बराबरी
गोलनेपाल

काठमाडौं । शुरुवाती पाँच मिनट मै दुई गोल भएको खेलमा शहिद स्मारक ए डिभिजन लिगतर्फ सोमबार नेपाल पुलिस क्लब र ब्रीगेड ब्वाईज क्लब (बीबीसी) ले १–१ गोलको बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा भएको खेलको दोस्रो मिनट मै रोशन राना मगरको गोलबाट बीबीसीले खेलमा अग्रता बनाएको थियो । तर, बीबीसीले त्यो अग्रता केही बेरमै गुमाउन पुग्यो ।

गोल खाएको दुई मिनट बित्न नपाउँदै चौथो मिनटमा बुद्ध बल तामाङले पुलिसका लागि गोल गर्दै खेललाई नाटकीय बराबरीमा ल्याएका थिए । जुन बराबरी नतिजा नै खेलको अन्तिम नतिजा बन्यो ।

खेलमा बीबीसीका अनिल गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । यो नतिजापछि ८ खेलबाट ७ अंक जोडेको पुलिस ११औं स्थानमा रहँदा ६ अंकका साथ बीबीसी १२औं स्थानमा छ ।

सोमबारको खेलसँगै लिगको आठौं चरणको खेलहरु पनि सम्पन्न भएका छन् । आठौं चरणको समाप्तीसम्म २० अंक जोडेको साविक विजेता मच्छिन्द्र लिगतालिकाको शिर्ष स्थानमा यथावत छ ।

Post Comments