News अफ्रिकन टोली माथि नेपालको पहिलो जित !
केशर बहादुर दाहाल
नेपाल र मोरिसस बीच आफ्नै घरेलु मैदानमा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले १-० को जित निकाल्न सफल भएको छ । नेपालका लागि दुई वर्ष पछि राष्ट्रिय टिममा फर्किएका विमल घर्ती मगरले खेलको ५५ औं मिनेटमा अञ्जन विष्टले उपलब्ध गराएको पासमा गोल गरेका हुन् ।
 
यो जित निकाल्न नेपाललाई सहज भने भएन । मोरिससको तुलनामा नेपाल बलियो टोली हो । त्यसैले नेपालले मोरिसस विरूद्ध जित निकाल्न खासै कठिन नहुने धेरैले अनुमान नगरेका हैनन् । तर मोरिससले पनि नेपाल विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । 
 
पहिलो हाफमा दुवै टोलीले औसत प्रदर्शन गरेका थिए । मोरिससले केही राम्रा अवसर सिर्जना गरेको थियो भने नेपालले पनि दुई राम्रा अवसर पाएको थियो तर दुवै टोलीले बललाई जाली चुमाउन सकेनन् । यस्तै, दोस्रो हाफको सुरुमा नै मोरिससका फरन्याण्डो ज्याक्सनको प्रहार बारमा लागेर फर्किएका थियो । दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको नेपालले त्यसको फलस्वरूप एक गोल गर्न सफल रह्यो । बललाई उत्कृष्ट ढंगले गोल पोस्टको दिशा दिएका अञ्जन विष्टको प्रहार बारमा लागेर फर्किएको थियो । 
 
सुदिप गुरुङ र आकाश बुढा मगरले डेब्युको अवसर पाएको खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाहले आक्रमक रणनीति अपनाएका थिए । ४-३-३ को अट्यकिङ फर्मेसन खेलाएका अब्दुल्लाहले पहिलो हाफमा उनले सोचे अनुरूप टिमले प्रदर्शन गर्न सकेन । नेपालले धेरै समय बल आफ्नो नियन्त्रणमा राखेता पनि फाइनल थर्डमा समस्या देखिएको थियो । यस्तै, यसपटक नेपालले आफ्नो कर्नर प्रहार गर्ने रणनीतीमा पनि परिवर्तन गरेको थियो । प्रायः कर्नरबाट क्रस निकाल्ने नेपालको शैलीलाई परिवर्तन गरेर नेपालले सर्ट कर्नर लिएको थियो ।

नेपाली खेलाडी भन्दा मोरिससका खेलाडी शारीरिक रूपमा सशक्त र निकै अग्ला अग्ला भएर हुन सक्छ, प्रशिक्षक अब्दुल्लाह एयर बल नखेलाउने र मौरिसस टिमलाई पनि एयर बल खेल्न नदिने रणनीतीमा थिए ।
 
मोरिसस कै कुरा गर्दा उसले पनि जित्ने स्पिरिटका साथ खेल खेलेको थियो । फिफा वरियतामा नेपाल भन्दा केही कमजोर रहेता पनि उसले रक्षात्मक खेल खेल्ने शैली अपनाएन ।

प्रशिक्षक फ्रानकोइसले पत्रकार सम्मेलनमा नेपाल बलियो टिम रहेको तर मौरिसस जित्न कै लागि खेल्नेछ भनेका थिए । त्यसै अनुरूप मौरिससले खेलको सुरुबाटै आक्रमक खेल पस्कियो । पहिलो हाफमा दुवै टोलीको प्रदर्शन औसत रहेता पनि तुलनात्मक रूपमा भने मौरिससको प्रदर्शन राम्रो रहेको थियो । उसले नेपालले भन्दा धेरै गोल गर्ने अवसर सिर्जना गरेको थियो । आफ्नो शारीरिक सशक्तताको र उचाइको भरपूर प्रयोग गर्दै बल खोस्न र एयर बल भेट्टाउन सक्षम रहेको थियो ।

नेपालको घरेलु मैदान, नेपालको बिल्कुलै नयाँ वातावरण र करिब २ वर्ष पछि अन्तर्राष्ट्रिय खेल खेलेको तथ्य बावजूद पनि मौरिससले देखाएको खेल प्रशंसा गर्न योग्य रहेको थियो ।
 
समग्रमा भन्नु पर्दा खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । दुवै टोलीले राम्रो खेल देखाएका थिए । फरक यति हो कि नेपालले आफूले पाएको अवसरको सदुपयोग गर्न सक्यो भने मोरिसस असफल रहन पुग्यो ।

१-० को झिनो अग्रता लिएको नेपाललाई आफ्नो अग्रता अन्तिम सम्म जोगाउन हम्मे हम्मे परेको थियो । अन्तिम मिनेट सम्म पनि मौरिससले हार नमानेको स्थिति रहँदा खेल निकै रोमाञ्चक बन्न पुगेको थियो ।

अब दोस्रो मैत्रीपुर्ण खेल माघ १८ गते मंगलबार हुनेछ । अबको यस खेलमा नेपालले आफ्नो जितको लयलाई निरन्तरता दिन खोज्नेछ भने मौरिसस पनि नेपाललाई उसकै घरेलु मैदानमा चोट पुर्याउन कोसिस गर्नेछ । 
Post Comments