
काठमाडौं । शुक्रबारदेखि सुचारु भएको कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा संघर्षरत टोली फ्रेण्डस क्लबले महत्वपूर्ण जित निकाल्दै रेलिगेशन क्षेत्रबाट बाहिरिएको छ ।
लिगको दशौं चरणको पहिलो खेलमा फ्रेण्डसले ब्रीगेड ब्वाईज क्लबमाथि ५–२ को प्रभावशाली जित निकाल्यो । दशरथ रंगशालामा भएको खेलमा फ्रेण्डसका लागि १४औं मिनटमा सुशिल शाहले पहिलो गोलको खाता खोलेका थिए । तर २५औं मिनटमा डेडी वाम्बाले बीबीसीका लागि बराबरी गोल फर्काउन सफल भए ।
यद्यपि बीबीसीले त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन । २८औं मिनटमा श्यामबाबु केपछाकीले फ्रेण्डसका लागि दोस्रो गोल गरे । पहिलो हाफ कै अतिरिक्त समयमा मनोज राईले आत्मघाती गोल गर्दा फ्रेण्डसले त्यो अग्रता ३–१ को स्थितिमा पुर्यायो । जुन गोलको अग्रता फ्रेण्डसले पहिलो हाफसम्म कायम राख्न पनि सफल भयो ।
दोस्रो हाफको ७७औं मिनटमा जमुल एन्थोनीले फ्रेण्डसका लागि तेस्रो गोल गर्दा लगतै ७८औं मिनटमा सुशिल शाहले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल थपे र टोलीको जित पक्का गरे । उता बीबीसीका लागि ८६औं मिनटमा अनिल गुरुङले एक गोल फर्काए तापनि टोलीको हार टार्न सकेनन् ।
यो जितपछि १० खेलबाट ६ अंक जोडेको फ्रेण्डस लिगतालिकाको १२औं स्थानमा उक्लेको छ । समान अंक भए तापनि पराजित बीबीसी १३औं स्थानमा झरेको छ ।
आर्मीको बराबरी
त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलको ५३औं मिनटमा अनगुना जुनियरको गोलबाट जावलाखेलले खेलमा अग्रता लिएको थियो ।
तर खेलको अन्तिमतिर इन्जुरी समयमा सुमन अर्यालले आर्मीका लागि बराबरी गोल फर्काउँदै टोलीको सम्भावित हार टारेका थिए । यो नतिजापछि १० खेलबाट १८ अंक जोडेको आर्मी तेस्रो स्थानमा छ । उता जावलाखेल भने ९ अंकका साथ ११औं स्थानमा छ ।