News च्यासलमाथि थपिएको दबाब
गोलनेपाल

काठमाडौं । लिग शुरु हुनु अघि राम्रा खेलाडीहरु अनुवन्ध गरेर चर्चा बटुलेको च्यासल युथ क्लबमाथि यस सिजन रेलिगेशनको दबाब थप थपिएको छ । लिगमा अब दुई चरणका खेलहरु बाँकी रहँदा च्यासल अझै पुछारमा छ । मंगलबार दशरथ रंगशालामा भएको ११औं चरणको खेलमा ब्रीगेड ब्वाईज क्लबसँग गोलरहित बराबरी खेलेपछि च्यासललाई रेलिगेशनको डरले थप च्यापेको हो ।

लिगमा ११ खेल खेल्दासम्म एक जित हात मात्र हात पारेको च्यासलको खातामा ७ हार र ३ बराबरी छ । र कुल ६ अंक मात्र जोड्दै लिगतालिकाको पुछारमा छ । त्यसो त च्यासलसँग बराबरी खेलेको ब्रीगेडको खातामा पनि ७ अंक छ र रेलिगेशन क्षेत्रको १३औं स्थानमा छ ।

च्यासलले रेलिगेशनबाट जोगिन बाँकी दुई खेल जित्नुको विकल्प पनि छैन । त्यति मात्र नभएर च्यासलले आफूभन्दा माथिल्लो स्थानमा रहेका केही टोलीहरुको नतिजामा पनि भर पर्नुपर्नेछ । च्यासलले लिगको बाँकी दुई खेलमा पुछारतिरै रहेको फ्रेण्डस क्लब र यस सिजन राम्रो प्रदर्शन गरिरहेको नव आगन्तुक टोली सातदोबाटो युथ क्लबसँग खेल्न बाँकी छ ।

जावलाखेल र फ्रेण्डसको रोमाञ्चक बराबरी

त्यस्तै मंगलबार नै एन्फा कम्प्लेक्समा सम्पन्न अर्को महत्वपूर्ण खेलमा फ्रेण्डस क्लबले उत्कृष्ट पूनःरागमन गर्दै जावलाखेल युथ क्लब विरुद्ध ३–३ को बराबरी खेल्यो । यो नतिजाका बावजुद ११ खेलबाट ७ अंक जोडेको फ्रेण्डस रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि १२औं स्थानमा छ । त्यस्तै जावलाखेल १० अंकका साथ ११औं स्थानमा छ ।

Post Comments